सुचना, समाचार र मनोरन्जन

सवारी चालक अनुमति पत्र सुरक्षण मुद्रण केन्द्रले छाप्ने

सवारी चालक अनुमति पत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबिच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्र मार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो ।

नवीकरण गरिएको समेत लामो समय सम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए ।

्तत्काल अनुमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नु पर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ ।

््हाल सोही एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ । दिगो समाधानका लागि समयमानै सवारी चालक अनुमति पत्र छपाई नै गर्नु पर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए ।

्सरकारी निकायहरू बिचमा नै सहकार्य गरी सवारी चालक अनुमति पत्र छपाईको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबिच छलफल समेत भएको थियो ।

दुई सरकारी निकाय बिचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्ष बिच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने छ ।

समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेका छन् ।

अब सुरक्षण मुद्रण केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्ने छ ।

Leave A Reply

Your email address will not be published.