सुचना, समाचार र मनोरन्जन

नाटक मञ्चन गर्दै सडकमा ओर्लियो ‘महाभोज’

काठमाडौं :

दर्शकलाई महाभोजको लागि निमन्णा दिनका लागि निर्देशक दिनेश राउतको टिम सडकमा ओर्लिएको छ। यही जेठ १५ गते बिहीबारबाट रिलिज हुन लागेको फिल्म ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारका लागि सडकमा ओर्लिएको हो।

रिलिजको केही दिन मात्र बाँकी रहँदा निर्माण टिमले सडकमा नाटक मञ्चन गर्दै दर्शकलाई हलमा आउन आग्रह गरेको हो। शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई फिल्मको कथावस्तुबारे जानकारी गराइएको छ। फिल्मका निर्माता हिमाल कडरियाका अनुसार यो अभियान फिल्म हलमा नचलुञ्जेलसम्म हुनेछ।

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबिचको कथालाई प्रस्तुत गरेका छन् । चलचित्रको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन्। कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन्। नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो।

दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्ने फिल्म हो । यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई समेटिएको छ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको यो फिल्म क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो। निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ।

Leave A Reply

Your email address will not be published.