सुचना, समाचार र मनोरन्जन

जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ : सौगात मल्ल

काठमाडौं :

अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन्। उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन्। जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन्।

‘एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु। किनकि एउटामा काम गरिरहदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन। ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लले भने।

उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले आफूलाई तयार गर्ने गरेका छन्। यद्यपि, कुनै पात्र तयार गर्दै गर्दा उनको व्यतिगत भोगाई पनि त्यहाँ मिसिन्छ । निर्देशकले देख्ने र अभिनेता मल्लले बुझ्ने पात्र मिलेपछि त्यो पर्दामार्फत दर्शकसम्म पुग्ने गरेको छ। उनलाई निर्देशकको पछिल्लो कामले पनि खासै फरक पार्दैन, किनकि हरेक नयाँ कामको छुटै प्रतिफल आउने उनले बुझेका छन्।

‘मलाई निर्देशकको पछिल्लो काम भन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ। पछिल्लो काम विग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन। विश्वभर आश नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । र, म कहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनौट गर्ने हो । कहिले काही फलानो फिल्म किन नगरेको भन्ने पनि सुन्छु । तर, म कहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका फिल्ममै मैले काम गर्ने हो’,अभिनेता मल्लले भने।

उनले सिनेमा ‘जन्ते बाख्रो’ ले आफ्नो ग्रामिण जीवनलाई स्मरण गराएको बताए। विशेषत गाउँमा हुँदा उनले भोज भतेरमा सहभागी जनाएको किस्सा सुनाए। ‘गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो। किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाह लगायतका गतिविधीमा सघाउने प्रचलन छ। मसहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ। यो प्रक्रियामा गाउँमा रहेका सबै सहभागी हुनुभएको छ’, उनले भने।

अभिनेता मल्लले को स्टारद्वय आशिफ शाह र गरिमा शर्मासँग पहिलोपटक काम गरेका हुन्। यद्यपि, आशिफसँग भने ‘कागवेनी’ मा अभिनय गर्ने समयमै सौगात परिचित थिए। उनीहरूले सँगै सहकार्य गर्ने छलफल पनि भएको थियो, तर त्यो छलफलले पूर्णता पाएन।

‘मैले पहिला देखि नै चिनेकाले पनि काम गर्न सहज भयो । साथै, छायांकन अगाडि हामीले पटकथामा छलफल गर्दा पनि एक अर्कासँग जानकार भयौँ । सोही कारण तपाइँले सार्वजनिक प्रचार सामग्रीमा हाम्रो ‘कम्फर्ट’ लाई देख्नुभएको होला। यो फिल्म रमाइलो बनेको छ, हामीले छायांकनमा पनि रमाइलो गरेका थियौँ । सोही कुरा फिल्मका दृश्यमा विम्वित भएको छ’, अभिनेता मल्लले भने।

सिनेमाले परम्पराका विषयमा जानकारी दिदै मनोरञ्जन दिने बुझाइ उनको छ । उनका अनुसार ‘जन्ते बाख्रो’ दुई प्रकारको हुन्छ । एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्र्याएपछि हुने भतेर (भोज) मा खाइन्छ । फिल्मको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको अभिनेता मल्लले बताए ।

‘हाम्रो परम्परा र संस्कृतिले एकआपसमा जोड्ने र सामीप्यता बढाउने गरेको पाइन्छ। पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ ले बदलेको छ। त्यहीकारण फिल्मले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मियता पाइन्छ’, अभिनेता मल्लले भने। उनले आफ्नो विवाह बारे सोधिएको प्रश्नमा भव्यता भन्दा पनि सरलता मन पर्ने बताए। उनी आफ्नो स्वभाव अनुसार नै जीवनयापन गर्न चाहन्छन्।

‘भव्यताले मलाई कहिले पनि आकर्षित गरेन्, मेरो विवाह हुँदा पनि सरल नै हुन्छ किनकि म त्यस्तै रुचाउँछु’, उनले भने। फिल्ममा अभिनेता मल्लसँगै आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ।

अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोयल भिमसेनको पोस्टर डिजाइन रहेको छ।सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ।

Leave A Reply

Your email address will not be published.