काठमाडौं : आगामी शुक्रबारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन्। बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमा हेरेपछि उनीहरुले सकरात्मक प्रतिक्रिया दिएका हुन्।
श्रीमानका साथमा प्रिमियरमा पुगेकी अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् ।
उनले भनिन्,‘म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाईलाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो। उहाँ यसअगाडिका फिल्म भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ।’
वर्षा रहेका अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि परम्परासँगै सिनेमाले मनोरञ्जन दिने बताए। उनले अभिनेता शाहको ग्रामिण परिवेशसँगै सिनेमामा कैद भएका सुन्दर दृश्यको तारिफ गरे। ‘तपाइँलाई ट्रेलरले आकर्षित गरेको छ भने सिनेमा हेर्न आउनुस्, इन्जोय गर्नुहुने छ। ग्रामिण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ’,उनले भने ।
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले सिनेमा निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए। सिनेमा हेरेर निस्किँदा पत्कथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे।
उनले भने,‘मलाई सिनेमा बन्दा मैले सुनेको पटकथा कस्तो होला भन्ने लागेको थियो । रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु । सिनेमा हेरिरहदा हामी प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ । यो सिनेमामार्फत एउटा राम्रो निर्माता सनतोष गौतमको आगमन भएको छ । उहाँले सिनेमालाई राम्रो बनाउन कहिँ कतै कन्जुस्याइँ गर्नुभएको छैन।’

गायक महेश काफ्लेले सिनेमाले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए। ‘यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले इन्जोय गरे’, गायक काफ्लेले भने ।
निम्तालु सिनेकर्मी र सञ्चारकर्मीको मनोरञ्जनको प्याकेजु भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन।
‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहिँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ। यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’, उनले भनिन्।
पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन।
उनले थपिन्,‘पहिलोपटक सिनेकोको कथा नै बोकेको पात्रलाई निर्वाह गरेकी छु । सिनेमा मैले निर्वाह गरेको सम्झना पात्रकै वरिपरी घुम्छ।’ अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए।
उनले सिनेमा पूर्ण पारिवारिक र मनोरञ्जनात्मक भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे । लामोसमयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा सिनेमा इन्जोय गरेको प्रतिक्रिया दिए।

प्रिमियर पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले गाउँको सेटअपमा पहिलोपटक काम गरेकाले नयाँ अनुभव संगालेको बताए ।
‘यो पारिवारिक सिनेमा हो, यसमा हासो छ, रोदन छ, यो एउटा पूर्ण सिनेमा हो। सबै मिश्रण गरिएको छ। आज हामीले पाएको प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ, यस्तै प्रतिक्रिया शुक्रबारदेखि दर्शकबाट पाउनेमा आशावादी छु।’
अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । ुहामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छुु, उनले भने।
निर्माता सन्तोष गौतमले आफूले निर्माताको रुपमा सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको बताए। उनले सिनेमा हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर सिनेमा तयार भएको बताए । उनी दर्शकले सिनेमा रुचाउनेमा विश्वस्त छन् । जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने सिनेमाको अग्रिम टिकट बुकिङ र खरिद खुला भईसकेको छ। प्रदर्शकले प्रचार समाग्रीको आधारमा यसलाई राम्रो शो दिएका छन् ।
गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ । सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन्। सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन्। यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।