सुचना, समाचार र मनोरन्जन

९१ औँ दिनमा प्रदर्शन भइरहेको अञ्जिलाको कमाई १२ करोड

काठमाडौं :

गत वर्षको फागुन २९ गते रिलिज भएको फिल्म ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ। बुधवार ९१ औँ दिनमा प्रदर्शन भइरहेको यो फिल्मलाई अब दर्शकले सय रुपैयाँमा नै हेर्न पाउने भएका छन्।

काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो फिल्म निरन्तर प्रदर्शनमा छ। बिहीबार (आज)को लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ। फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत रू१०० दरमा फिल्म देखाउने तयारी गरेको बताए।

उनले भने,‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने भनेको छ। यसमा हामीले पनि समर्थन गरेका छौँ। सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली फिल्मको लागि सुखद कुरा रहेको कारण यो फिल्म हेर्न चाहेका सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ।’

मिलन चाम्सले निर्देशन गरेको यो फिल्म अघिल्लो वर्ष व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र पर्न सफल भइको थियो। हालसम्म यस फिल्मले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन्। यो फिल्ममा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ। फिल्मका निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन्। उनी त्यहाँका विभिन्न सहरहरूमा फिल्म प्रदर्शनको लागि पुगेका हुन् ।

Leave A Reply

Your email address will not be published.