काठमाडौं :
एक वर्षअघि फिल्म ‘महाराजधिराज’मा अनुबन्ध भएका अभिनेता पल शाह ‘आउट’ भएका छन्। निर्माण पक्ष र पल शाहबीच कागजी सम्झौता अनुसारलाई उनी आट भएका हुन्।यस फिल्मका लेखक तथा निर्देशक परिच्छेद सेनले आफ्नो आधिकारि सामाजिक सञ्जालमार्फत आफहरुबीचको सम्झौता अन्त्य भएको उल्लेख गरेका छन्।
फिल्म निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले बिहीबार सूचना निकाल्दै आधिकारिक सम्झौता अन्त्यको जानकारी गराएको हो।निर्माण पक्षले निकालेको सूचनामा भनिएको छ,‘यस पत्रमार्फत निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट र यहाँबीच चलचित्र ‘महाराजधिराज’ निर्माणका लागि मिति २०८१ कार्तिक १४ गते (सन् २०२४, अक्टोबर ३०) मा भएको सम्झौतालाई दुवै पक्षको आपसी सहमतिमा आजका मितिदेखि औपचारिक रूपमा अन्त्य गरिएको जानकारी गराउन चाहन्छौँ।’
उनीहरुले किन,कसरी,कहाँ लगायतको जवाफ नमाग्न समेत आग्रह गरेको छ। यस फिल्मका लागि निर्माण पक्षले आर्यन सिक्देल, रमेश उप्रेती,पुष्प खड्का,वर्षा राउत,वर्षा सिवाकोटी, उषा रजकलाई अनुबन्धित गरिसकेको छ। पल शाह पनि रहने निर्माण टिमले जनाउदै आएको थियो। तर अन्त्यमा उनी अन्यत्र काममा व्यस्त हुने भएकाले फिल्मबाट बाहिरिएको बुझिएको छ।
पल शाह पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका छन्। उनी अभिनित फिल्म ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएकाले यसको प्रमोसनमा समेत व्यस्त हुनेछन्। समय अभावका कारणले पनि उनले यो फिल्म छाडेका हुन् कि भन्ने बुझिन्छ। तर दुवै पक्षले आधिकारिक रुपमा यस विषयमा नबोल्ने भनेपछि आधिकारिक रुपमा केहि भन्न सकिन्न।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माता रहेका छन्। यो फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने निर्माण पक्षको दाबी छ।