सुचना, समाचार र मनोरन्जन

‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

काठमाडौँ,
सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए ।
हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थिए । संसारकै जोखिमपूर्ण मानिने केटुमा विन्टर सिजनमा सफलतापूर्वक आरोहण गर्नु असम्भव झैँ मानिन्थ्यो । त्यो जोखिमलाई चुनौती दिँदै नेपाली आरोहीले बनाएको विश्व कीर्तिमानी सम्भवतः नेपाली आरोहीको इतिहासकै गर्विलो दिन थियो । उनीहरुले आरोहण गरेको खबर विश्वका अधिकांश सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ बन्यो । किनभने केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा यसअघि कसैले पनि विन्टर सिजनमा आरोहण गर्न सफल भएका थिएनन् । त्यसो त माउन्ट केटुलाई आरोहणको दृष्टिबाट संसारकै जोखिमपूर्ण हिमालका रुपमा चिनिन्छ । सन् १९५२ मा अमेरिकी आरोही जर्ज बेलले केटुबारे भनेका थिए, “इट इज स्याभेज माउन्टेन, द्याट ट्राइज टु किल यु ।” केटु चढ्न जाने आरोहीमध्ये औसतमा २३ देखि २५ प्रतिशत आरोहीको मृत्यु हुने भएकाले पनि केटुलाई चुनौती दिनु भनेको मृत्युसँग पौँठेजोरी खेल्नु हो भनिन्छ । सम्झिँदै भयानक र गर्विलो त्यही टोलीका एक सदस्य हुनुहुन्थ्यो, मिङ्मा डेभिड शेर्पा ।
“विन्टरमा केटु आरोहण हाम्रा लागि ठूलो उपलब्धि थियो, कैयौँ हिमाल कैयौँ पटक आरोहण गरेको अनुभव हुँदा पनि हामीले त्यो क्षणलाई ऐतिहासिक मानेका छौँ”, मिङ्माले भने, “त्यसअघि विन्टरमा गरिएका ४८ वटा प्रयास असफल भएका थिए, हामीले पहिलो प्रयासमै पूरा गर्‍यौँ ।”
सफल आरोहण हुनुका कारण टिमवर्क हो भन्नुहुन्छ, मिङ्मा । उहाँका अनुसार तत्कालीन समयमा सबै नेपालीहरु व्यक्तिगत कीर्तिमानीका लागि केटु आरोहणको योजना बनाएका थिए । सबैलाई कीर्तिमान आफ्नो नाममा होस् भन्ने चाहना थियो । तर त्यसअघिका असफल प्रयासबारे अध्ययन गर्दा टिमवर्क नभएका कारणले हो भन्ने निष्कर्ष निस्कियो । त्यसैले व्यक्तिगत कीर्तिमानभन्दा पनि सामूहिक रुपमा प्रयास गरौँ भन्ने सहमति जुट्यो ।
“हामीहरुबीच कैयौँ पटक छलफल भयो, त्यसमा सामूहिक प्रयासमा मात्रै आरोहण गर्नेमा सहमति जुट्यो, चुचुरोभन्दा १० मिटर तलबाट हातेमालो गर्दै नेपालको राष्ट्रिय गान गाउँदै एक साथ शिखर चुम्ने निर्णय भयो”, मिङ्माले भन्नुभयो, “राष्ट्रिय भावनाले हामीलाई एकजुट बनायो ।”
त्यो घटना केटुको इतिहासमा नयाँ थियो भने मिङ्माका लागि भने तेस्रो विश्व कीर्तिमान । हाल उहाँका नाममा पाँच वटा विश्व कीर्तिमान छन् । ती सबै केटुसँगै जोडिएका छन् । उनै मिङ्मा यतिबेला छैटौँ विश्व रेकर्डका लागि केटु आरोहणको तयारीमा हुनुहुन्छ ।
“म आगामी जुलाईमा सबैभन्दा बढी केटु आरोहण गर्ने आफ्नै रेकर्ड तोड्ने तयारीमा छु”, केही दिनअघि आरोहणसम्बन्धी कार्यक्रममा भाग लिन लन्डन जानुअघिको भेटमा उनले भने । उनका अनुसार पहिलो विश्व रेकर्ड ६१ दिनमै सगरमाथा र केटु आरोहणपछि बनेको थियो । दोस्रो रेकर्ड सन् २०१९ मा केटु आरोहणपछि सबैभन्दा सानो उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने नाममा बनेको थियो । तेस्रो रेकर्ड १० जनाको समूहमा विन्टरमा केटु आरोहण गरेर भएको थियो । भने चौथो विश्व रेकर्ड सबैभन्दा बढी केटु आरोहण गरेर बनेको थियो ।
सन् २०२३ मा उहाँले सबैभन्दा छिटो अर्थात् आधार शिविरबाट चुचुरोमा १४ घण्टा २२ मिनेटमा पूरा गरेर पाचौँ  विश्व रेकर्ड कायम गर्नुभयो । अब उहाँ छैटौँ विश्व रेकर्डका लागि सातौँ पटक केटु आरोहणको तयारीमा हुनुहुन्छ ।
मिङ्मा केटु आरोहण गर्न गएको पहिलो पटक सन् २०१३ मा हो । पहिलो पटकको प्रयास असफल भए पनि दोस्रो पटक भने सफल भयो । केटुमा उहाँका हालसम्म चार वटा प्रयास असफल भएका छन् । “केटु हिमाल आरोहण आरोहण आफैँमा गाह्रो छ, त्यसैले त सगरमाथामा एकै व्यक्तिले ३१ पटक आरोहण गर्दा केटुमा छपटक चढेको रेकर्ड छ”, उनले भने ।
मिङ्मा शेर्पा समुदायको भए पनि हिमाल आरोहण गर्ने उहाँ गाउँकै पहिलो व्यक्ति हुन् । फक्ताङ्लुङ गाउँपालिकामा जन्मिनुभएका उहाँको बाल्यकाल पनि त्यहीँ बित्यो । गाउँका अधिकांश कि ब्रिटिस लाहुरे हुन्थे भने कि त पैसा हुनेहरु अमेरिका, क्यानडा र युरोपतिर जान्थे । मिङ्माको परिवार कृषिमै निर्भर थियो ।
सन् २००७ ताका विद्यालयमा पढ्दै गर्दा घुम्नका लागि दार्जलिङको योजना बनाएर काठमाडौँ आएका उहाँ यतै रोकिनुभयो । तत्कालीन समयमा मधेसमा आन्दोलन चर्कंदो थियो । काठमाडौँमा पनि हरेक दिन बन्दका घटना भइरहन्थे । आन्दोलनका कारण उहाँ घर जान पाउनुभएन । काठमाडौँमा बस्न खर्चको जोहो गर्ने क्रममा उहाँले पर्यटकको भारी बोक्ने काम पाउनुभयो । दिनको ३०० रुपैयाँ आम्दानी हुन्थ्यो । तै पनि सन्तुष्ट हुनुको विकल्प थिएन । त्यो समयमा चिनेजानेकाहरुले काम मिलाइदिएका थिए ।
भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पाए । आधार शिविरमा आरोहीहरु देखेपछि उहाँको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो ।
काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको रु ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिकसम्बन्धी आधारभूत तालिम लिनुभयो ।  त्यसपछि उहाँ ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुगे । खत्री तीन पटक सगरमाथा आरोहण गरिसक्नुभएको थियो । “उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उहाँले सन् २०१० मा मलाई सहायक गाइडका रुपमा सगरमाथा आरोहणका लागि लैजानुभयो”, मिङ्माले विगत सम्झँदै भने, “सन् २०१०, २०११ र २०१२ मा उहाँकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ ।”
त्यो समयमा मिङ्मा काठमाडौँबाट प्राइभेट एसएलसी दिँदै हुनुहुन्थ्यो । तर आरोहण चल्दै गर्दा एसएलसीको परीक्षा बीचमै छाडेर उहाँ आरोहणमा जानुभएको थियो । सगरमाथा आरोहणपछि उनले उच्चस्तरीय तालिम लिनु सुरु गर्नुभयो । तर त्यसको केही समयपछि आरोहणमा समस्या आयो ।
सन् २०१४ मा खुम्बु आइसफलमा १४ जना आरोहीहरुको मृत्यु भयो । त्यसैमा मिङ्माका गुरु दोर्जे खत्री पनि परे । गुरु नै नरहेपछि मिङ्मालाई अब हिमाल नचढ्ने पो हो कि भन्ने हुन थाल्यो । त्यतिखेर उहाँ अर्को कम्पनीमार्फत मकालुको आरोहणमा थिए ।
त्यसको केही समयपछि अर्थात् सन् २०१५ मा सगरमाथाको आधार शिविरमै छँदा भूकम्पले ठूलो धक्का दियो । भूकम्पका कारण आधारशिविरमा १९ जनाको मृत्यु भयो भने ६४ जना घाइते भए । उनी चार दिनसम्म आधार शिविरमै बसेर उद्धारमा सक्रिय थिए । काठमाडौँ फर्किएपछि उहाँ राहत लिएर सिन्धुपालचोक पुग्नुभयो । सिन्धुपालचोकमा भूकम्पको दोस्रो ठूलो धक्काले तर्सायो ।
सन् २०१५ को जुलाइमा पाकिस्तानको केटुमा जाँदा अचानक मौसम प्रतिकुल भयो । क्याम्प–३ मा रहेको सबै टेन्टसहित सबै सामग्री हिम पहिरोमा बग्यो । भाग्यले यहाँ पनि मिङ्मा र उनको नेतृत्वको ४० जनाको टीम बच्यो ।
हिमालमा पटक–पटक भाग्यले बाँचेपछि अब सक्दो उमेरसम्म यही बिताउँछु भन्ने अठोट लिनुभयो । “हिमालमा भएका ठूला घटनामा लगातार बाँचिसकेपछि मर्नु त कर्म रहेछ भन्ने अनुभव भयो, भूकम्पमा मानिसहरु काठमाडौँका घरभित्रै मरेको घटनाले मृत्युदेखि जोखिम लिन नडराउने भन्ने भयो, मनोबल उच्च भएपछि म यो क्षेत्रमा अझ बढी सक्रिय भएँ”, उनले भने।
मिङ्माले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसक्नुभएको छ । सगरमाथा र मनास्लु नौ÷नौ पटक चढ्नुभएको छ भने केटु ६ पटक र बाँकी हिमालका चुचुरोमा एक÷एक पटक पुग्नुभएको छ ।
सुरुआत नै सगरमाथाबाट गर्नुभएका मिङ्माले पाँच वटा महादेशका हिमाल चढ्नुभएको छ । अर्जेन्टिनाको अकोनकागुवा, अफ्रिकाको किलिमिन्जारो, रसियाको इलब्रस कैयौँ पटक चढेका छन । अब उनको ‘बकेट लिस्ट’मा इन्डोनेसियाको कास्र्टेन्ज पिरामिड र अन्टार्टिकाको भिन्सोन म्यासिफ आरोहण बाँकी छ ।
मिङ्माले सन् २०१६ हिमाल आरोहणसम्बन्धी छ वटा भाग भएको टेलिभिजन कार्यक्रम ‘एभरेष्ट रेस्क्यु’मा काम गर्ने मौका पाउनुभयो । दुई महिनामा उहाँको टिमले सगरमाथाबाट ५२ जनालाई उद्धार गर्‍यो । सन् २०१६ मे महिनामा मिङ्मासँग जीवनको सबैभन्दा ठूलो अनुभव पनि छ ।
तत्कालीन समयमा उहाँ एकैदिन सगरमाथा र ल्होत्से आरोहण गरेर आफ्नो नाममा विश्व रेकर्ड कायम गर्ने योजनामा त्यहाँ पुग्नुभएको थियो । योजनाअनुसार सगरमाथाको चुचुरोमा पुग्ने दिन पनि आयो । तर भइदियो के भने, भारत कोलकाताका एक दम्पती सगरमाथा आरोहण गरी फर्केने क्रममा थिए । तर चौथो शिविरमा श्रीमान् एक्लै आए, श्रीमतीको अत्तोपत्तो थिएन । रात ढल्दै थियो । ती महिला माथि नै छुटेको खबर सुन्नासाथ सगरमाथा आरोहणको योजना त्यागेर मिङ्मा उद्धारमा जुट्नुभयो । ती महिला आठ हजार ६०० मिटरको उचाइमा एक्लै बसेकी रहिछन् । उनी हिउँले हात र खुट्टाका औँला काम नलाग्ने भइसकेको र अनुहार हिउँले डढेको अवस्थामा भेटिइन् ।
मिङ्माको टीमले रातारात उनलाई क्याम्प–फोरमा ल्यायो । भोलिपल्ट बिहान क्याम्प–३ हुँदै क्याम्प–२ मा ल्याएर हेलिकप्टरमार्फत काठमाडौँ पठायो । काठमाडौँमा उपचारपछि उनी बाँचिन्, तर हात र खुट्टाका औँला भने गुमे । ती महिलासँग त्यसयता तीन पटक भेट भइसकेको छ । प्रत्येक भेटमा आफूलाई बचाएकामा धन्यवाद दिन्छन् ।
“छ महिनाअघि काठमाडौँको विमास्थलमा भेट भएको थियो, अहिले त उमेर बढेर होला अनुहार पनि नचिनिने भएको रहेछ, मलाई नामले बोलाउँदै हात देखाएपछि पो चिनेँ”, मिङ्माले भने, “त्यो भेटमा पनि निकै आत्मीय ढङ्गले कुरा गर्दै धन्यवाद दिइन् ।”
मिङ्मा आफूले त्यो दिन लिएको निर्णय जीवनकै सबैभन्दा राम्रो हो भन्नुहुन्छ । यदि त्यो दिन रेकर्डका लागि आरोहण गरेको भए अहिलेसम्म टुटिसक्थ्यो, तर ती महिला अहिले पनि जीवित छन् । “तत्कालीन समयमा लिएको निर्णयले अहिले पनि गर्व महसुस हुन्छ”, उनले भने ।
हिमाल चढ्ने मिङ्माले आरोहणसम्बन्धी काम गर्न सन् २०१६ मा कम्पनी सुरु गर्नुभयो । तर व्यवसायको ज्ञान नभएकाले चलेन । सन् २०१८ मा आइपुग्दा ३५ लाख रुपैयाँ डुब्यो । हिमालमा भारी बोकेर कमाएको पैसा व्यवसायमा डुब्यो । पहिलो कम्पनी नचले पनि उनले सन् २०१८ मा निर्मल पुर्जा अर्थात् निम्स दाईसँग मिलेर एलाइट एक्सपेड कम्पनी सुरु गर्नुभयो । उक्त कम्पनीमा सन् २०२१ मा मिङ्मा तेञ्जी शेर्र्पा पनि जोडिए ।
अहिले उक्त कम्पनीले हिमाल आरोहणसम्बन्धी काम गर्दै आएको छ । उक्त कम्पनीले स्काइ डाइभिङसम्बन्धी तालिमहरु विभिन्न देशमा सञ्चालन गर्दै आएको छ । सन् २०१९ मा मिङ्मा एकै वर्षमा १० वटा हिमाल चढेका छन । सन् २०१९ मा निर्मल पुर्जासँग मिलेर ‘प्रोजेक्ट पोसिबल’ सम्पन्न भयो । जसमा ६१ दिनमा १४ वटै हिमाल आरोहण गर्ने निर्मल पुर्जाको अभियान सफल पार्न मिङ्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । त्यही प्रोजेक्टअन्तर्गत निर्मल पुर्जाले छ महिना छ दिनमा १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान कायम गरे।
मिङ्माले हिमाल चढेर कमाएको केही पैसा यसै क्षेत्रमै गुमाउनुभएको छ, तर समाजबाट प्राप्त सम्मानमा भने आँच आउन दिएका छैन । त्यसैले त मिङ्मा एभरेष्ट बैंक, स्पार्काको ब्राण्ड एम्बेस्डरका रुपमा काम गरिसकेका छन भने माउन्टेन ड्यु, क्यानोन क्यामरा, एबोटलगायतका ब्राण्डसँग डिजिटल मार्केटिङमा काम गरिसकेका छन ।
पछिल्ला केही वर्षयता सगरमाथामा चढ्दा ट्राफिक जाम हुने अवस्था छ । सयौँ मानिसहरु एकसाथ चुचुरोतर्फ गइरहेको तस्बिरहरु देखिन्छन् । मैले मिङ्मालाई सोधेँ, के अहिले हिमाल चढ्न सजिलो भएको हो रु होइन– मिङ्माको जवाफ थियो।
उहाँका अनुसार अहिले प्रविधिका कारण सगरमाथाबारे धेरै जानकारी हामीसँग छ । मोबाइलबाटै नेभिगेसन, जिपिएस, मौसम, अल्टिच्युडबारे सजिलै जानकारी पाइन्छ । सगरमाथा आरोहणको बाटोबारे भएका कैयौँ अध्ययन अनुसन्धानका कारण सजिलो बनाएको हो । सुरुमा सगरमाथा आरोहण गर्दा तस्बिर पनि नभएको अवस्थाबाट अहिल थ्रिडी नक्सा पाइन्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारणले भने असहज बन्दै गएको उहाँको बुझाइ छ ।
“जलवायु परिवर्तनले हिमाललाई प्रत्यक्ष रुपमा असर गरेको छ, हिउँपर्ने र पानी पर्ने समय फेरिएको छ, मौसम कहिले कस्तो हुन्छ भने अनुमान गर्न कठिन छ,”, उहाँले भन्नुभयो, “हिमालबारे पर्याप्त जानकारी नलिने, शारीरिक र मानसिक रुपमा तयार नहुँदै आरोहणका लागि जानेहरुका लागि समस्या भने हुन्छ ।” अन्य खेलमा गल्ती गर्दा खेलमात्रै हारिन्छ भने हिमालमा एउटा गल्तीले ज्यान जोखिममा पर्छ । त्यसैले शेर्पाले सहयोग गरिहाल्छन् भन्ने सोचले हिमाल आरोहणका लागि तयार हुनु राम्रो होइन ।
“कतिपय मानिसहरु शरीरले नसक्ने हुँदा पनि शिखरसम्म पुग्छु”, उनले भने, “ठूलो रकम त्यसैका लागि खर्च गर्नुभएको हुन्छ, त्यस्तो अवस्थामा हामीले उहाँहरुको अवस्था बुझेर निर्णय लिनुपर्ने हुन्छ”, मिङ्माले भने, “कहिलेकाहीँ आरोहीविरुद्ध पनि निर्णय लिनुपर्ने हुन्छ ।” अब सरकारले सगरमाथा आरोहण पूर्व कम्तीमा सात हजार मिटरको एउटा हिमाल आरोहणको नियम ल्याउने हो भने यसले सबैलाई फाइदा गर्ने उनको बुझाइ छ ।
त्यसबाहेक सगरमाथामा फोहर ठूलो समस्या बन्दै गएको मिङ्माको बुझाइ छ । अहिले सरकारले प्रत्येक टीमसँग फोहरका लागि चार हजार डलर धितो राख्छ । फोहर उठाएको प्रमाण देखाएपछि त्यो रकम फिर्ता आउँछ । तर सगरमाथामा फोहर दिनप्रतिदिन बढ्दो छ । त्यसैले आरोही प्रत्येकसँग निश्चित पैसा लिएर आफैँले फोहर व्यवस्थापन गर्नुपर्ने मिङ्माको सुझाव छ । त्यसो हुन सकेमा पाँच वर्षमा सगरमाथाबाट फोहर हटाउन सकिने उहाँको भनाइ छ ।
आफूसँगै हिमाल आरोहणमा सक्रिय भाइ कासाङको हिमाल चढ्न छाडेको तीन वर्षमा दुर्घटनामा निधन भयो । सन् २०१२ मा भाइले एसएलसी दिएपछि मिङ्माले आफैसँग राखेर हिमालबारे सिकाएका थिए । भाइले किचन हेल्पर सगरमाथा, मनास्लु आमादब्लम र धौलागिरि आरोहण गरिसकेको थियो । धौलागिरि आरोहण पछि दुवै दाजुभाई एउटै पेसामा हुँदा जोखिम हुन्छ भन्ने सोचल कासाङ त्यसबाट टाढिएका थिए । तर त्यसको तीन वर्षपछि काठमाडौँको कपनमा रहेको कम्पनीमा आगलागी हुँदा उनको मृत्यु भयो ।
“भाइ हिमाल आरोहण छाडेपछि मेरै कम्पनीमा व्यवस्थापकीय भूमिकामा सक्रिय थियो, तर अचानक भएको आगलागीले उसलाई अल्पायुमै गुमाउनुपर्‍यो, त्यो घटना जीवनको निकै पीडादायी क्षण थियो”, उनले भने । उक्त घटना हुँदा मिङ्मा मनास्लुको आधार शिविरमा थिए ।
‘अक्लिमाटाइजेसन’का लागि आधार शिविर पुगेर केही तल झर्नुभएको थियो । घटना घटेको आधा घण्टामा फोन आयो । खबर पाएको भोलिपल्ट बिहान मिङ्मासहितको २३ टिम आरोहण छाडेर हेलिकप्टरबाट काठमाडौँ फर्कियो ।
Leave A Reply

Your email address will not be published.