सुचना, समाचार र मनोरन्जन

‘महाभोज’को अस्ट्रेलियासँगै दक्षिण कोरियामा प्रदर्शनको तयारी,जापानमा जारी

काठमाडौं :

प्रदर्शनरत् फिल्म ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ। निर्माण पक्षका अनुसार अस्ट्रेलियाका विभिन्न सहरहरूकासाथै दक्षिण कोरियामा यो फिल्म प्रदर्शन हुने भएको हो।

यो फिल्म जेठ ३० गतेबाट अलनेपालका साथै जापानमा पनि प्रदर्शन भइरहेको छ। कोरियामा हिमालयन के–भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ। ‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिवार पर्थमा सम्पन्न भइसकेको छ। अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ। यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी गरिरहेको छ, जसका लागि शो मितिहरू चाँडै घोषणा गरिने बताइएको छ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ ले सहकारी ठगीको मारमा परेका परिवारको मर्मस्पर्शी कथालाई पर्दामा उतारेको छ। यसले समाजमा सहकारी ठगीले पारेको प्रभाव र त्यसबाट हरेक व्यक्ति कसरी प्रभावित हुन्छन् भन्ने विषयलाई मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले प्रस्तुत गरेको छ।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको सशक्त अभिनय रहेको छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस फिल्म का निर्माता हिमाल कडरिया हुन्। नेपालमा शुक्रवार रिलिज भएको यस चलचित्रलाई देशभरिबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ, जसले यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई थप उत्साहजनक बनाएको छ।

Leave A Reply

Your email address will not be published.