फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल फेला पारेको हो।
जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले नेपालखबरलाई जानकारी दिए।
सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेको थियो। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको हो।
उनलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरी परिसर काठमाडौँ कार्यालयमा ल्याउँदै छ। त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले बताए।
रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए। उनले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा, मलाई माफ गरिदिनु भन्दै लेखेका थिए।
१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा.श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए।