काठमाडौं :
अभिनेत्री आँचल शर्मा फिल्म ‘झिंगे दाउ २’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले हालै फिल्मका लागि अनुबन्ध गरेको हो। फिल्मका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले अभिनेत्री शर्मालाई फिल्मका लागि कागजी संझौता गरेको बताए।
उनले यसअघि फिल्मका लागि अभिनेत्रीका रुपमा केकी अधिकारी र अभिनेताका रुपमा मुकुन भुसाल अनुबन्ध गरेको जानकारी दिए।
‘‘झिंगे दाउ’कै कलाकारलाई सिक्वेलमा पनि लिएका हौँ’,निर्देशक देउजाले परिचयसँगको कुराकानीमा भने,‘त्यसै अनुसार आँचल,केकी र मुकुनलाई अनुबन्ध गरेका छाँै। फिल्मको सुटिङ दसैं आसपासमा गर्ने योजना बनाएका छौँ।’
उनले फिल्मको छायांकनपछि मात्रै रिलिज डेट तोकिने बताए। उनी भन्छन्,‘अहिले नै फिल्मको रिलिज डेट तोक्ने मनसायमा छैनौँ। पहिला फिल्मको छायांकन सकौँ अनि कुरा गरौँला।’
उनका अनुसार अहिले फिल्मको लोकेशन हेर्ने काम पनि चलिरहेको छ। यतिबेला फिल्मको गीतसंगीत, कथावस्तुको काम समेत भइरहेको छ।