सुचना, समाचार र मनोरन्जन

भोटेकोशीको बाढीले नेपालतर्फ १० वटाभन्दा धेरै जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ,

चीनको तिब्बत हुँदै भोटेकोशीमा मङ्गलवार बिहान आएको बाढीले नेपालतर्फ १० वटाभन्दा धेरै जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।

इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो । सञ्चालनमा रहेका झन्डै २५० मेगावाट जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको इप्पानले जनाएको छ ।

रसुवागढी, त्रिशूली–थ्री ए, त्रिशूली जलविद्युत् केन्द्र, चिलिमे जलविद्युत्, माथिल्लो मैलुङ, देवीघाट जलविद्युत् परियोजना र मैलुङ खोला जलविद्युत‍्को उत्पादन बन्द भएको छ । यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली–थ्री बी हब सबस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको इप्पानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

इप्पानका अनुसार देवीघाट, त्रिशूली र त्रिशूली–थ्री ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् । निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका हुन् । त्यस्तै निर्माणाधीन आयोजनामा माथिल्लो त्रिशूली ए, सुपर त्रिशूली, त्रिशुली–थ्री बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको र यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।

इप्पानले चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रहसमेत गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले क्षतिग्रस्त आयोजनाबाट विद्युत् उत्पादन र प्रसारण केही दिन रोकिने अवस्थाले करोडौं रुपैयाँ बराबरको घाटा बेहोर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.