काठमाडौँ,
गएको आर्थिक वर्ष २०८१÷८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । त्यस्तै २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको तथ्याङ्क छ ।
आयात अघिल्लो वर्षको तुलनामा १३ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै निर्यातमा रेकर्ड बनेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१र८२ मा निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०÷८१ मा १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो ।
नेपालको वैदेशिक व्यापार घाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।
नेपालको वैदेशिक व्यापार घाटा २०८०÷८१ मा १४ खर्ब ४० अर्ब रहेकोमा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको हो ।
नेपालको मुख्यगरी छिमेकी भारत र चीनसँग ठूलो मात्रामा वैदेशिक व्यापार घाटामा छ । सियोदेखि सुनसम्म नेपालले आयात गर्दै आएको छ ।