काठमाडौं :
आगामी भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको माधव राज खरेल निर्देशित चलचित्र ‘चिट्ठी’ को स्थिर र मोसन पोस्टर सार्वजनिक गरिएको छ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको तथा कुवेर डिस्ट्रीब्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको यो चलचित्र हाँस्य र डरको मिश्रण अर्थात् कमेडी–हरर जनरामा आधारित छ।
निर्माण पक्षका अनुसार ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम हो। चलचित्रले डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोगजस्ता समसामयिक विषयहरूलाई रोचक ढंगले प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
निर्देशक माधव खरेल भन्छन्, “हामीले दर्शकलाई हँसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं।”
सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ। डार्क रङ संयोजन, रहस्यमयी भावभङ्गिमा र पात्रहरूको सशक्त उपस्थितिले दर्शकमाझ उत्सुकता थपिएको छ।
चलचित्रमा अर्गानिक कमेडियन खड्गबहादुर पुन मगर ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेविल सिंह राजपूत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतको अभिनय रहेको छ।
सञ्चारकर्मी कमला जोशी निर्माता रहेको यो चलचित्र जीवन पराजुली र राजन खरेलद्वारा खिचिएको हो। चलचित्रको सम्पादन राजेश कुमारले गरेका छन् भने VFX मा समिर मियाँको काम देख्न पाइनेछ।
चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीका गीतहरू छन्, जसमा शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालको स्वर रहेको छ। संगीत सरोज कोइरालाले गरेका छन् भने शिवताण्डव गीतको संयोजन राजेन्द्र बजगाईंले गरेका छन्।
किरण दाहालको द्वन्द्व निर्देशन, पुस्कर खत्रीको ब्याकग्राउन्ड म्युजिक, ध्वनि सम्पादन मनोज परियार र ध्वनि मिश्रण अमित श्रेष्ठले गरेका छन्।
प्रचारप्रसारमा सक्रिय देखिएको निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
