काठमाडौं ।
गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक आन्दोलनमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण गरिने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका हुन्।
पोस्टर सार्वजनिक गर्दै प्रचण्डले चलचित्र ‘जनक्रान्ति’ ले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र त्यसपछि कायम भएको सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी दिन सघाउने विश्वास व्यक्त गरे। उनका अनुसार, हिजोको समाज, संघर्ष र परिवर्तनको प्रक्रियाबारे नयाँ पुस्तालाई जानकारी दिन यस्ता सिर्जनात्मक माध्यम आवश्यक छन्।
रुद्राक्ष फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र ‘जनक्रान्ति’ को निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन भाद्र दोस्रो साताबाट सुरु गरिनेछ भने प्रदर्शन मिति फागुन १ गतेका लागि तय गरिएको छ।
निर्माता रुद्र प्रसाद खनालका अनुसार, चलचित्रको कथा गणतन्त्र स्थापनाका क्रममा भएका विभिन्न आन्दोलनहरू तथा घटनाहरूको पृष्ठभूमिमा आधारित हुनेछ। निर्देशक तिमिल्सिनाले भने, “सत्य घटनामा आधारित यो चलचित्रले नयाँ पुस्तालाई नेपालको राजनैतिक इतिहास बुझ्न थप सहज बनाउनेछ।”
चलचित्रको छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा, खोटाङ, भोजपुर तथा तराई–मधेशको सर्लाही जिल्लामा गरिने निर्माण पक्षले जनाएको छ।
