काठमाडौं :
हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीतहरू सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही अवसर पारेर तीजको सन्दर्भमा चर्चित सर्जक याम प्रसाद निउरेको नयाँ गीत ‘रानिहार’ सार्वजनिक गरिएको छ।
यसअघि ‘चोली फाटेको’ जस्तो मर्मस्पर्शी र चर्चित तीज गीतमार्फत चर्चा कमाएका निउरेले यसपटक ‘रानिहार’मा शब्द र स्वरमार्फत आफ्नो उपस्थिति जनाएका छन्। गीतमा उनलाई लोकप्रिय मौलिक गायिका देबी घर्ती मगरले गायनमा साथ दिएकी छन्।
हल्का हास्यरस र मायाप्रेम मिश्रित भावमा तयार गरिएको गीतमा मौलिकपन झल्कने लय प्रयोग गरिएको छ। भिडियो पक्षमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय तथा नृत्य रहेको छ। गीतको कोरियोग्राफी र निर्देशन प्रविन थापाले गरेका छन् भने राजेश घिमिरेको छायांकन र सुजन कोइरालाको सम्पादन रहेको छ। ‘रानिहार’सहित दुबै गीत याम प्रसाद निउरेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।