काठमाडौं : नेपाली अभिनेत्री तथा बलिउड स्टार मनीषा कोइरालाले शनिबार (साउन ३१ गते) आफ्नो ५५औं जन्मदिन मनाइन्। यद्यपि, उनको जन्मदिनको उत्सव एकदिनमा मात्र सीमित नरही सोमबारसम्म निरन्तर चलिरहेको देखिएको छ।
सोमबार मुम्बईस्थित सोहो हाउस क्लबमा आयोजित भव्य पार्टीमा बलिउडका चर्चित कलाकारहरू उपस्थित रहे। पार्टीमा अभिनेता ज्याकी श्राफ, गुल्शन ग्रोवर, अभिनेत्री सोनाक्षी सिन्हा र उनका पति जाहिर इक्वाल, अभिनेता गोविन्दाको पत्नी सुनिता आहुजा, चर्चित फेसन डिजाइनर मनिष मल्होत्रा, तथा नेटफ्लिक्सको वेब सिरिज ‘हीरामण्डी’ का कलाकारहरूको उल्लेखनीय उपस्थिति थियो।
सोसल मिडियामा सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा मनीषाको जन्मदिन उत्सव निकै भव्य र आकर्षक रूपमा सम्पन्न भएको देखिन्छ। उनी विभिन्न अतिथिसँग रमाइरहेको, केक काटिरहेको र सांगीतिक माहोलमा रमाइरहेको दृश्यहरू सार्वजनिक भएका छन्।
मनीषा कोइराला पछिल्लो समय ‘हीरामण्डी: द डायमन्ड बाझार’ मार्फत पुनः बलिउडमा चर्चामा आएकी छिन्। यस वेब सिरिजमा उनको अभिनयको प्रशंसा व्यापक रूपमा भएको थियो। मनीषा नेपाली र भारतीय दर्शकबीच लोकप्रिय अभिनेत्री हुन् र उनको हरेक गतिविधि सामाजिक सञ्जालमा भाइरल बन्ने गर्छ।