सुचना, समाचार र मनोरन्जन

कैलाश पर्वतको छायामा छायाङ्कन गरिएको ‘जय जय शंकर’ गीत सार्वजनिक

काठमाडौं :

गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शंकर’ सार्वजनिक गरिएको छ। गीतको लोकार्पण काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सम्पन्न भयो।

डिजिसेन्स नेपाल प्रा. लि. को निर्माणमा तयार भएको उक्त गीतमा स्वर्गीय नातिकाजीको संगीत रहेको छ भने मोहित मुनालले पुनः संगीत संयोजन गरेका छन्। गीतमा थप शब्द विजय अधिकारीले लेखेका हुन्।

गीतको म्युजिक भिडियो हुम्लाको लिमी उपत्यकाको लाप्चा क्षेत्रमा, समुद्री सतहबाट ५१०० मिटर उचाइमा छायाङ्कन गरिएको हो। यो स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिन्छ। निर्माण पक्षले यस स्थानमा संसारमै पहिलो पटक म्युजिक भिडियो छायाङ्कन गरिएको दाबी गरेको छ।

भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय देख्न सकिन्छ। निर्देशन विजय अधिकारीले गरेका हुन् भने किरण थापाको कोरियोग्राफी, हरि हुमागाईँको छायाङ्कन निर्देशन, र भरत रेग्मीको सम्पादन रहेको छ। निर्माण नियन्त्रकको रूपमा दिपेन गौतम ‘माइकल’ संलग्न छन्।

कार्यक्रममा बोल्दै पूर्व पर्यटन मन्त्री शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रा स्रोतहरू प्रचुर छन्, कानुनी संरचना बलियो बनाइए देश आफैंले पाल्न सक्छ। यस किसिमको प्रयासले सबैलाई झकझक्याउनेछ।”

महामन्त्री थापाले गीतको प्रशंसा गर्दै भने, “सुगम पोखरेलको शक्तिशाली स्वर र बद्रीको जीवन्त अभिनयले गीतलाई विशेष बनाएको छ। कर्णालीमा दुःख मात्र होइन, अनुपम प्राकृतिक सम्पदा पनि छन् भन्ने सन्देश यो गीतले दिएको छ।”

निर्देशक विजय अधिकारीले पुराणमा वर्णित लङ्काका राजा रावणद्वारा कैलाश पर्वतमा गरिएको साधनाको प्रसङ्ग स्मरण गर्दै भने, “हामीले पनि लाप्चा पुगेर प्रत्यक्ष रूपमा कैलाश र मानसरोवर देख्यौँ, र त्यही पवित्र स्थलमा गीतलाई जीवित तुल्यायौँ।” निर्माण पक्षले यस म्युजिक भिडियोले नेपालबाट कैलाश पर्वत र मानसरोवर देखिन्छ भन्ने सन्देश विश्वभर पुर्‍याउने र पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान गर्ने अपेक्षा राखेको छ।

भिडियो ‘डिजिसेन्स नेपाल’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.