काठमाडौँ :
एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित चलचित्र ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले बजारमा निकै चर्चा पाएको छ। आगामी १६ असोजदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रको शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा चर्चित हास्य कलाकार नारायण त्रिपाठीलाई भिन्न र अनौठो रूपमा प्रस्तुत गरिएको छ। ‘प्रेम चरो’ उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म नेपाली चलचित्र अभिनयमा निकै व्यस्त थिए। एकाएक अमेरिका प्रस्थान गरेपछि व्यावसायिक अभिनयबाट टाढिएका उनी यसै चलचित्रमार्फत पुनः दर्शकमाझ फर्कन लागेका हुन्।
हास्य विधामा निकै जमेका त्रिपाठी ‘चमेलीको पोइ’ को ‘सेकेन्ड लुक्स’ पोस्टरमा अर्धनग्न अवस्थामा देखिएका छन्। उनको अनुहारमा लात्ती-मुक्का बज्रिएर लागेका चोटका नीलडामहरू स्पष्ट देखिन्छन् भने च्यातिएको कपडामा उनी कुटाइ खाएर भागिरहेको जस्तो दयनीय स्थितिमा प्रस्तुत छन्।
‘फर्स्ट लुक्स’ पोस्टरबाटै दर्शकको ध्यान खिच्न सफल यस चलचित्रको नयाँ पोस्टरमा त्रिपाठीको सोही रूपका साथै चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रामनारायण उपाध्याय, सुदीप कुँवर र उमेश राईलाई पनि समेटिएको छ। यीबाहेक चलचित्रमा प्रेमदेव गिरी, रवीन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मीना आरएल शाह, रितु मल्ल ठकुरीलगायतको अभिनय रहेको छ।
सार्वजनिक प्रदर्शनमा आउनुभन्दा केही साताअघि अर्थात् आगामी ९ अगस्तमा अमेरिकाको टेक्सासमा यस चलचित्रको विशेष शो (प्रिमियर) आयोजना गरिँदै छ। चलचित्रको कथा स्वयं निर्देशक बोहराले लेखेका हुन् भने पटकथा र संवाद लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन्।
‘धन लक्ष्मी सिने मेकर्स’ को ब्यानरमा निर्मित यस चलचित्रका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। त्यस्तै, कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोड्युसर हुन्। सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, यमप्रसाद ओली र प्रदीपकुमार सापकोटा सहनिर्माता रहेको यस चलचित्रको छायांकन मुस्ताङ, पोखरा र काठमाडौँमा गरिएको हो। चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दै छ।