काठमाडौं :
नेपाली चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते देशभर प्रदर्शन हुने भएको छ। निर्माण पक्षले सोमबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै सो मितिमा रिलिज हुने जानकारी गराएको हो।
पोस्टरमा हिन्दू धर्मका प्रमुख देवता भगवान शिव र उहाँको वाहन साँढेलाई चित्रण गरिएको छ। जटाधारी शिवलाई कैलाश पर्वत उक्लिँदै देखाइएको छ भने साँढेको निधारमा त्रिशूल अंकित छ। यद्यपि उक्त दृश्यले फिल्मको कथासँग के सन्दर्भ जोड्छ भन्ने खुलाइएको छैन।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक सन्तोष कुमार आत्रेय हुन्। यो उनको पहिलो निर्देशकीय प्रस्तुति हो। चलचित्रका निर्माता अञ्जान केसी हुन् भने सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा रहेको चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा र टीका निरौलालगायतको अभिनय रहनेछ।
चलचित्रको कथा निर्माता केसी स्वयंले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूले तयार पारेका छन्। स्क्रिप्ट डक्टरका रूपमा सुलक्षण भारती संलग्न छन्।
पोखरा र वरपरका क्षेत्रमा छायांकन गरिएको चलचित्र अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ। पोस्ट प्रोडक्सनको काम चलचित्र चौतारीले गरिरहेको छ भने वितरणको जिम्मेवारी डिजिटल सिनेमा नेपाल (DCN) ले लिएको छ।
सिनेमाको छायांकन सरद महतोले गरेका हुन्। न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रमा विप्लव प्रतीक र शिवाकोटीकै शब्द छन्। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको छ।
चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी, र विराज खड्काको भीएफएक्स निर्देशन तथा आदेश सुब्बाको भीएफएक्स निर्माण छ।