काठमाडौं :
नेपाली फिल्म ‘सोल्टिनी’ को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ। अब यो फिल्म आउँदो कात्तिक ६ गते (अक्टोबर २३) बाट देशभर प्रदर्शनमा आउने भएको हो।
यसअघि फिल्म असोज ३ गते रिलिज गर्ने तयारी थियो। तर निर्माण पक्षले प्रदर्शन मिति परिवर्तन गर्दै पाँच वटा नयाँ पोस्टर सार्वजनिक गरेका छन्। सार्वजनिक पोस्टरहरूमा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बुलाई देखाइएको छ।
अर्जुन सुवेदीको निर्देशनमा तयार भएको ‘सोल्टिनी’ ले प्रेम, संस्कृति र ग्रामीण परिवेशको कथा समेट्ने निर्माण पक्षको दाबी छ। फिल्मले जातीय भेदभाव र सामाजिक अमानवीयताविरुद्ध आवाज उठाउने बताइएको छ।
फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायत कलाकारको अभिनय रहेको छ।
छायांकन इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका विभिन्न स्थानमा गरिएको हो। फिल्ममा सुशन प्रजापतिको छायांकन, प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ।
अर्जुन सुवेदी र कुमार भट्टराईको कथा रहेको फिल्म प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो। रेजिना बिष्ट र संसार चौलागाईं निर्माताका रूपमा रहेका छन् भने हर्क साम्पाङ (रिभोलुसन एन्ड टिम) कार्यकारी निर्माताको रूपमा संलग्न छन्।
