एजेन्सी :
बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा सामाजिक सञ्जालमा एक भिडियोका कारण आलोचनाको केन्द्रमा परेका छन्। हालै उनले आफ्नो आगामी फिल्म ‘परम सुंदरी’ को प्रचारक्रममा एक भिडियो साझा गरेका थिए, जसमा उनी एक हात्तीलाई पानी खुवाउँदै देखिन्छन्।
तर भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको तीव्र प्रतिक्रिया आउन थाल्यो। ट्रोल हुने कारण थियो—सिद्धार्थले आफूले पिएको पानी (जूठो पानी) हात्तीलाई खुवाउनु।
धेरैले यो कार्यलाई हिन्दू धार्मिक भावनाको अपमानको रूपमा व्याख्या गरेका छन्। विशेषगरी हात्तीलाई गणेशजीको स्वरूप मानिने भएकाले, ‘जूठो’ पानी खुवाउनु गणपति बप्पाको अपमान भएको टिप्पणीहरू देखिएका छन्।
Navbharat Times को रिपोर्टअनुसार, एक प्रयोगकर्ताले लेखेका छन्,“उहाँलाई थाहा छैन कि हात्तीलाई हामी भगवान मान्छौं? जूठो पानी खुवाउनु त अपमान हो।” अरू धेरैले यस्तो व्यवहारलाई सेलिब्रिटीहरूबाट अपेक्षित सोच र व्यवहारसँग मेल नखाने बताएका छन्।
हालसम्म अभिनेता मल्होत्राले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।