सुचना, समाचार र मनोरन्जन

सरकारबाट मान्यताप्राप्त कन्सल्टेन्सीबाट मात्रै सेवा लिन उपयुक्तः निवर्तमान अध्यक्ष थापा

‘निःशुल्क कोर्स’, ‘निःशुल्क टिकट’, ‘निःशुल्क ल्यापटप’ जस्ता प्रलोभनमा नपर्न थापाको आग्रह

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौ २० र २१ (शुक्रबार र शनिबार) पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्दैछ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिको प्रस्तुतिमा हुने फेयर पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा हुँदैछ ।

लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको छ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६५ स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । यसै सन्दर्भमा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापासँग गरिएको कुराकानी:

काठमाडौँबाहिर यो स्तरको मेला गर्दा कस्ता चुनौतीहरू आउने रहेछन् ?

मेला गर्दा मुख्य चुनौती भनेको मानिसहरूलाई, विशेष गरी विद्यार्थीहरूलाई, एकै ठाउँमा जम्मा गर्न र उनीहरूलाई सूचित गराउनु हो । अहिले परामर्श केन्द्रहरू धेरै भएकाले विकल्पहरू पनि धेरै छन् । अर्को कुरा, सरकारले पनि भर्खरै यस वर्षदेखि मात्र मेलाहरू सुरु गर्न अनुमति दिएको छ । त्यस्तै, विज्ञापनमा पनि केही सीमाहरू छन् । साथै, समयको पनि अभाव हुन्छ ।

अहिले धेरै परामर्श केन्द्रहरू भएकाले कुन सही कुन गलत भन्ने छुट्याउन अभिभावकलाई गाह्रो भइरहेको छ । अभिभावकको यो द्विविधा कसरी मेट्ने?

यो सीधा कुरा छ । सरकार, विशेष गरी शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त परामर्श केन्द्रहरू, जसले नैतिक अभ्यास गर्छन् र राज्यको नीति नियमभित्र रहेर परामर्श दिन्छन्, तिनीहरूको सूची नै जारी गरिएको छ । अहिले ७२० वटा कन्सल्टेन्सीहरू त्यसमा आबद्ध छन् । इक्यानका सबै साथीहरू शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त साथीहरू मात्र सदस्य हुन पाउँछन् । अर्को कुरा, अहिलेसम्म जति पनि ठगीहरू भएका छन्, ती अनुमति प्राप्त संस्थाहरूबाट भएका छैनन् । त्यसैले सरकारको दायराभित्र रहेर मान्यता पाएका परामर्श केन्द्रहरूलाई त विश्वास गर्ने वातावरण अवश्य पनि बनिहाल्छ ।

अहिले शैक्षिक परामर्श क्षेत्रमा कस्ता समस्या देखिएका छन् ? परामर्श केन्द्रका चुनौती के–के छन् ?

अहिले बजारमा विशेष गरी सरकारबाट मान्यता प्राप्त नगरी, दर्ता नगरिकनै सञ्चालन गर्ने संस्थाहरू धेरै छन् । उनीहरूले नैतिक अभ्यास गर्दैनन् । उनीहरूले ‘निःशुल्क कोर्स’, ‘निःशुल्क टिकट’, ‘निःशुल्क ल्यापटप’ जस्ता प्रलोभन देखाएर विद्यार्थीहरूलाई भ्रमपूर्ण विज्ञापनमार्फत ठग्ने वातावरण पनि सिर्जना गरेका छन् । यस कारण बजारमा सबैलाई एउटै नजरले हेर्ने गरिएको छ । ‘परामर्श केन्द्र’ भनेपछि सबै उस्तै हुन् भन्ने खालको भ्रम छ ।

Protin

पोखरा र यसको सेरोफेरोमा विदेश पढ्न जाने प्रवृत्ति कस्तो छ?

तपाईंलाई थाहा नै छ, अहिले विद्यार्थीहरू १०+२ गरेपछि विदेशै जाने भन्ने खालको एउटा प्रवृत्ति छ । यो प्रवृत्ति पोखरामा पनि अछूतो रहेन र यसका वरपरका गण्डकी प्रदेशभित्रका सबै जिल्लामा यो बढ्दो छ । कतिका साथीहरू गइसकेका छन्, उनीहरूको प्रभाव होला । कोहीका आफन्तहरू बाहिर छन्, त्यो होला । यसको मुख्य कारण, विदेशमा अवसरहरू धेरै छन् भन्ने सन्देश उनीहरूले पाइराखेका हुन्छन् । त्यसैले, यो प्रवृत्ति बढ्दो छ, घटेको छैन ।

मेलामा सहभागी विदेशी विश्वविद्यालय र कलेजहरू कत्तिको विश्वसनीय छन् र विद्यार्थीले त्यसलाई विश्वास गर्ने आधार के हुन् ?

जति पनि विदेशी विश्वविद्यालयहरू आउँछन्, उनीहरूले आफ्नो देशमा लामो समयदेखि नै विद्यार्थी भर्नासम्बन्धी काम गरिरहेका हुन्छन् । त्यहाँ पढेर निस्केका विद्यार्थीले बजारमा ८०–९० प्रतिशतसम्म रोजगारी पाउने विश्वविद्यालयहरू नै मेलामा आउँछन् । हामीले पनि लामो समयदेखि विश्वविद्यालयमा काम गरेको अनुभव छ । हामीले जस्तो पायो त्यस्तै विश्वविद्यालयहरूलाई मेलामा सहभागी गराउँदैनौं । मेलामा सहभागी गराउनुअघि उनीहरूको सबै कुरा हेरेर, छानबिन गरेर मात्रै ल्याउँछौं ।

परामर्श केन्द्रहरूमाथि एउटै कलेजमा विद्यार्थी पठाउने, पाठ्यक्रममा विविधता नल्याउने र काम गर्न तथा उतै सेटल हुने उद्देश्यले मात्र विदेश पठाउने गरेको आरोप लाग्छ । शिक्षाको गुणस्तर र स्तरीय डिग्रीको कुरामा विद्यार्थी कमजोर भए भन्ने यो आरोपलाई तपाईं कसरी खारेज गर्नुहुन्छ ?

त्यस्तो बिल्कुलै होइन । किनभने विद्यार्थीहरू हामीसँग परामर्शका लागि आउँदै गर्दा हामी उहाँको पृष्ठभूमिको जाँच गर्छौं । जस्तै, विद्यार्थीले विज्ञान पढेको छ र ऊ सूचना प्रविधिमा पढ्न इच्छुक छ भने हामीले सूचना प्रविधिसम्बन्धी विश्वविद्यालयहरूको सूची दिन्छौं र त्यसको शुल्क, प्रवेश आवश्यकता सबैबारे बताउँछौं ।
यो आरोप हामीलाई किन लाग्छ भन्दाखेरि, ती दर्ता नभएका वा मान्यता नपाएका संस्थाहरूले यस्ता क्रियाकलाप गर्ने भएकाले यो आरोप हामीलाई पनि लाग्ने गर्दछ । तर, हाम्रो परामर्शमा के हुन्छ भने सबैभन्दा पहिले विद्यार्थी र उहाँका अभिभावकसँग बसेर उहाँको करियर र भविष्यको बारेमा छलफल गर्छौं । त्यसपछि लागतको कुरा आउँछ । विदेश जान ठूलो लगानी गर्नुपर्छ । त्यो लगानी कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि छलफल हुन्छ ।
विद्यार्थीको क्षमता अनुसार हामीले विश्वविद्यालय र कलेज सुझाव दिन्छौं । विदेशी विश्वविद्यालयहरू २० हजार डलरमा पनि पढाउँछन्, ४० हजार डलरमा पनि पढाउँछन् र ६० हजार डलरसम्मका पनि छन् । तर, हामीले विद्यार्थी र अभिभावकको आर्थिक पृष्ठभूमि र क्षमताको आधारमा सुझाव दिन्छौं । अर्को कुरा, विद्यार्थीहरूको आफ्नो रोजाइ पनि हुन्छ । जस्तो, व्यवस्थापन पढेको विद्यार्थी अस्ट्रेलियामा ‘प्रोफेसनल अकाउन्टिङ’ का कोर्सहरू पढ्न चाहन्छन्, जुन नेपालमा पढाइँदैन । यस्ता कोर्सहरू पढे भने उनीहरूले राम्रो जागिर पाउने सम्भावना हुन्छ । हामीले यस्ता कोर्सहरू सुझाव दिन्छौं । अहिले जस्तो सूचना प्रविधि पढ्न जानेहरूको लागि नेटवर्किङ, प्रोग्रामिङ, एनिमेशन, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता कोर्सहरू हामीले सुझाव दिइरहेकै हुन्छौं ।

अन्त्यमा, यो मेलामा आउन चाहने अभिभावक र विद्यार्थीहरूलाई तपाईं के भन्न चाहनुहुन्छ ? के तयारी गरेर आउनुपर्छ?

म के भन्न चाहन्छु भने, सम्पूर्ण अभिभावकहरू सम्भव हुन्छ भने आफ्नो बच्चासँगै आउनुहोस् । एकै छानामुनि सम्पूर्ण जानकारी पाउनुहुनेछ । किनभने त्यहाँ आर्थिक कुरा र आफ्नो बच्चाको भविष्य जोडिएको हुन्छ । त्यसैले, उनीहरूले आफ्नो बच्चाको भविष्य सम्झेर आउनुहोस् र विस्तृत जानकारी लिनुहोस् ।

जानकारी लिनका लागि कम्तीमा त्यो दिन समय निकालेर आउनुभयो भने अझ बढी प्रभावकारी हुन्छ । उनीहरूले त्यहाँबाट धेरै जानकारी पाउनुहुन्थ्यो । वित्तीय व्यवस्थापन कसरी गर्ने, त्यहाँ वित्तीय संस्थाहरू (बैंकहरू) पनि भएकाले ऋण प्रक्रिया के हुन्छ, के–के कागजातहरू चाहिन्छ, कुन कलेजमा भर्ना हुँदा र कुन कोर्समा भर्ना हुँदा उहाँहरूको बच्चाको भविष्य राम्रो हुन्छ, कुन देशमा उहाँहरूको भविष्य राम्रो हुन सक्छ, यस्ता सबै कुरामा जानकारी दिने भएकोले सम्भव हुन्छ, बच्चा र अभिभावक सँगै आउँदा अझ बढी प्रभावकारी हुन्छ भन्न चाहन्छु ।

Leave A Reply

Your email address will not be published.