काठमाडौं :
जेनजी आन्दोलनपश्चात उत्पन्न राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीलाई कारण देखाउँदै बलिउड तथा हलिउड अभिनेता देव पटेलले आफ्नो आगामी फिल्म ‘द पिजेन्ट’ को नेपाल छायांकन स्थगित गरेका छन्।
भारतीय वेब–पोर्टल मिड–डे का अनुसार फिल्मको छायांकन अब नोभेम्बरदेखि मुम्बईमा सुरु हुने भएको छ। देव पटेल आफैं निर्देशन र शीर्ष भूमिकामा रहने यो फिल्म महाराष्ट्र र राजस्थानका दुर्गम स्थानमा पनि खिचिनेछ।
फिल्मसँग नजिक स्रोतले भन्यो, “कलाकार र क्रूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। नेपालमा राजनीतिक अस्थिरताबाट ढिलाइ वा अवरोधको जोखिम लिन सक्दैनौं। त्यसैले व्यावहारिक भएर भारतमै छायांकन गर्ने निर्णय गरिएको हो।”
१४ औं शताब्दीको परिवेशमा आधारित यो फिल्मले एक भारतीय गोठालाको कथा सुनाउनेछ, जसले भाडाका लडाकुको समूहविरुद्ध संघर्ष गर्छ। पटकथामा नेपालका दुर्गम स्थानका केही भागलाई लक्षित गरिए पनि अन्ततः भारतकै लोकेसनमा काम गर्नुपर्ने भएको छ।
केही महिनादेखि पटेल यस प्रोजेक्टमा केन्द्रित छन्। अब उनी मुम्बईमा भित्री दृश्य खिचेर फिल्मको सुरुवात गर्ने तयारीमा छन्। मिड–डे का अनुसार, “देव सकेसम्म चाँडो फिल्म सुरु गर्न उत्सुक छन्।”
‘स्लमडग मिलेनियर’ मा जमल मलिकको भूमिकाबाट विश्वभर ख्याति कमाएका पटेलले सन् २०१६ मा ‘लायन’ बाट उत्कृष्ट सहायक अभिनेताको बाफ्टा अवार्ड जितेका थिए।