काठमाडौं :
निर्देशक राज बहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘लज्जावती’ को शुभमुहूर्त सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न गरिएको छ। बडादसैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर शुभमुहूर्तसँगै फिल्मको छायांकन औपचारिक रूपमा सुरु गरिएको हो।
शुभमुहूर्त सट लेखक प्रदीप भारद्धाजले निर्देशन गरेका थिए भने मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले संयुक्त रूपमा क्ल्याप दिए। त्यसपछि निर्माता विकास राज जोशीले नरिवल फोडेर शुभारम्भ गरेका थिए। पहिलो दिनको छायांकन पशुपति आर्यघाट क्षेत्रमा गरिएको छ।
आहा फिल्म्सको ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको यस सिनेमाका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन्। दीपक भण्डारी कार्यकारी निर्माता तथा भीमराज रोकाया सह-निर्माता रहेका छन्। दिव्यराज सुवेदी छायांकन निर्देशक र प्रवीन सुवेदी सह–छायांकार रहेका छन्। मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवी केसी हुन्।
३० दिनको सेड्युलमा काठमाडौं र आसपासका क्षेत्रमा खिचिने यस सिनेमामा मुकुन, श्रीकृष्ण, मेनुका र जानुकासँगै माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ।
निर्माण टिमका अनुसार सम्पूर्ण पोस्ट–प्रोडक्सन सकेपछि मात्र ‘लज्जावती’ को प्रदर्शन मिति घोषणा गरिनेछ।