सुचना, समाचार र मनोरन्जन

‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक, कात्तिक २१ बाट प्रदर्शन

काठमाडौं :

संगीतकार टंक बुढाथोकीको निर्देशन तथा निर्माणमा बनेको फिल्म ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्मको पोस्टरमा उनलाई विद्यालय पोशाकमा पुस्तक र कलमसहित प्रस्तुत गरिएको छ ।

पोस्टरमा दर्जीको बाल्यकालमा झापामा गीत गाउँदै आर्थिक सहयोग माग्ने दृश्य र उनको पहिलो चर्चित गीत ‘मन बिनाको धन’ को झलक पनि समावेश गरिएको छ । फिल्मलाई ‘कथा जिरोदेखि हिरोसम्म’ भन्ने ट्यागलाइन दिइएको छ ।

फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, साम्राज्ञी थापा, बुद्दि तामाङ, भोला सापकोटा, रविन्द्र झा, पार्वती अधिकारीलगायतका कलाकारको अभिनय रहनेछ ।

कात्तिक २१ गतेबाट प्रदर्शन हुने फिल्ममा टंक बुढाथोकीकै कथा र संगीत रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । सौरभ लामाले छायांकन, कविराज गहतराज र रामजी लामिछानेले कोरियोग्राफी तथा मित्र डि. गुरुङले सम्पादन गरेका छन् । फिल्मकी निर्मातामा विष्णु माया मैनाली र कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छन् ।

Leave A Reply

Your email address will not be published.