काठमाडौं :
असोज १३ गते (दशैंको फूलपाती) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ। बुधबार बेलुकी सम्पन्न सेन्सर प्रक्रियापछि यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।
सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारबारे छलफल भएको थियो। समितिका अधिकांश कर्मचारीले लामो समयपछि उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको भन्दै प्रशंसा गरेको निर्माण पक्षले जनाएको छ।
निर्माता रोहित अधिकारीले पनि ‘माइतीघर’ दर्शकलाई निराश नगर्ने विश्वास व्यक्त गरेका छन्। कमेडी, पारिवारिक र भावनात्मक कथा रहेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ।
फिल्मको बुकिङ खुलिसकेको छ र देशभरका हलमा सयभन्दा बढी शो तय भएका छन्। केही हलमा अझै शो खुल्न बाँकी छ। बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शो दिँदैछन्, जसका कारण दर्शकमाझ उत्साह देखिएको छ।
रामशरण पाठकले लेखेको कथा रहेको फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देललगायत कलाकारले अभिनय गरेका छन्। ट्रेलर र गीत सार्वजनिक भइसकेका ‘माइतीघर’लाई बलियो वर्ड अफ माउथ प्राप्त हुने अपेक्षा गरिएको छ।