सुचना, समाचार र मनोरन्जन

जीवन शाहीको निर्देशन रहेको चलचित्र ‘स्त्री’ को छायांकन सम्पन्न

काठमाडौँ  :

जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘स्त्री’ को छायांकन सकिएको छ। काठमाडौँ आसपासका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रको एउटा गीत मात्र बाँकी रहेको निर्देशक शाहीले जानकारी दिएका छन्।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा निर्माता समिर राईले निर्माण गरेको चलचित्रमा कथा निर्देशक शाहीकै रहेको छ भने पटकथामा किशन अर्यालले साथ दिएका छन्। रामशरण उप्रेतीले छायांकन, बाबुल गिरीले संगीत, देव महर्जनले द्वन्द्व निर्देशन, सुवास काफ्लेले प्रोजेक्ट म्यानेजर, चन्द्र भण्डारीले सह–निर्देशन, श्याम बरालले मेकअप र सुकनिता चौलागाईंले ड्रेस डिजाइनको जिम्मेवारी लिएका छन्।

सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मन्जु राजबंशी रहेका छन्। सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका शाहीको यो डेब्यु फिल्म हो।

नारीको कथामा आधारित यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डीसी र दीपा श्री निरौलाको प्रमुख भूमिका छ भने बालकलाकारमा दिप्सन चिलवालको अभिनय रहनेछ। निर्माता राईका अनुसार चलचित्र अब पोस्ट–प्रोडक्सनमा प्रवेश गर्नेछ र चाँडै प्रदर्शन मिति तय गरेर प्रचार–प्रसार सुरु गरिनेछ। यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। विजया दशमीको अवसरमा चलचित्र टिमले सम्पूर्ण नेपाली परिवारमा शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.