सुचना, समाचार र मनोरन्जन

आजदेखि प्रसारण हुँदै विश्वकै पहिलो कृषि गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’

काठमाडौं :

विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ। शो आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रशारण हुनेछ।

बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकहरूले कार्यक्रमको नवीन अवधारणा र प्रस्तुतिलाई उच्च प्रशंसा गरेका थिए। कार्यक्रम ‘महाहोस्ट’को रूपमा महानायक राजेश हमाल रहेका छन् भने शोको परिकल्पना, निर्माण र निर्देशन शैलेश कँडेल क्षेत्रीले गरेका हुन्।

निर्देशक कँडेलका अनुसार, कार्यक्रमको मूल उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउने हो।

महाहोस्ट हमालले भने शोले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहित गर्ने र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यो कार्यक्रमले दर्शकहरूलाई कृषि कर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारी दिनुका साथै मनोरञ्जन र प्रेरणा दुवै प्रदान गर्नेछ।”

कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहबीच रोचक प्रतिस्पर्धा देख्न सकिनेछ। निर्माताहरूका अनुसार, ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको शो हो, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ।

Leave A Reply

Your email address will not be published.