काठमाडौँ :
आगामी कार्तिक १४ गते प्रदर्शनमा आउने पारिवारिक फिल्म ‘परान’ की अभिनेत्री अञ्जना बराईलीले आफूले यो फिल्ममा अभिनय गर्ने निर्णय सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण गरेको बताएकी छन्। उनका अनुसार फिल्मले सबै उमेर समूहका दर्शकका भावना समेटेको छ र पारिवारिक परिवेशमा बनेकाले चाडपर्वमा हेर्न उपयुक्त हुन्छ।
बराईलीले भनिन्, “म यसमा जोडिनुको एउटै कारण यसको विषय हो। यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ। डबिङको क्रममा नै मैले यो फिल्म दशैंमै रिलिज गर्नुपर्छ भनेकी थिएँ, जब कि प्रायः म यस्तो भन्दिन।” उनका अनुसार दशैं–तिहार पारिवारिक चाडपर्व भएकाले दर्शकले पारिवारिक फिल्म हेर्ने चाहना राख्ने हुँदा त्यही बेला प्रदर्शन गर्न सुझाव दिएकी थिइन्।
फिल्मको मुख्य भूमिका वरिष्ठ कलाकार नीर शाहको रहेको छ। उनले निभाएको पात्र एक बाबुको जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहोस् भन्ने भावनामा केन्द्रित छ। बराईलीले भने आफूले निभाएको ‘रूपा’ पात्र बलियो र सम्झनलायक भएको बताउँदै भनिन्, “फिल्ममा म अलिक मिजासिलो पात्रमा छु। विभिन्न परिस्थितिले मलाई त्यस्तै रूपमा प्रस्तुत गर्छ। नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु।”

डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) निर्देशित ‘परान’ को कथा पनि आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन्। देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा.लि.ले निर्माण गरेको यस फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।