सुचना, समाचार र मनोरन्जन

चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक, सुरक्षा पन्त र प्रभात थापाको भावनात्मक कथा

काठमाडौं :

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली चलचित्र *‘धागो’*को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रबार सार्वजनिक गरिएको छ। गीतले चलचित्रको भावनात्मक पाटो उजागर गर्दै पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ।

गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन् भने करुणा अधिकारीले स्वरमा साथ दिएकी छन्। धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा कलाकार सुरक्षा पन्त र प्रभात थापाबीचको भावनात्मक सम्बन्ध चित्रण गरिएको छ, जसले कथाको मूल भावना – परिवारभित्रका सम्बन्धीय जटिलता –लाई प्रतिबिम्बित गर्छ।

‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको निर्देशन उदिप राणा थापाले गरेका हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसको ब्यानरमा निर्मित हो। यसको निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा हुन् भने प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता रहेका छन्। अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्।

चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रका नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई केन्द्रमा राखेको छ। फिल्ममा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ र पप्पु विश्वकर्माको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।

छायाङ्कन निर्देशन अनिकेर एम. घोघ, सम्पादन अखिलेश राय, कस्ट्युम डिजाइन बिनु प्रधान, भीएफएक्स अनुरूप केर्टकेट्टा, रङ संयोजन अनिन्दिया एस. राय, साउन्ड डिजाइन अमित त्रिवेदी, कोरियोग्राफी कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटर कमलेश पराउ, र ब्याकग्राउण्ड स्कोर निर्मल पन्याले सम्हालेका छन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.