काठमाडौं :
ड्रामा, रोमान्स र एड्भेन्चरको मिश्रण रहेको फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। फिल्मले पहिलो दिनमै सकारात्मक ओपनिङ गरेको संकेत देखिएको छ, यद्यपि यसको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक हुन बाँकी छ।
प्रदर्शनको पहिलो दिन कलाकारहरू अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा दर्शक भेटघाटका लागि कमलपोखरीस्थित हल पुगेका थिए। उनीहरूले दर्शकसँग संवाद गर्दै खुसी र उत्साह व्यक्त गरे।
अनमोलले भने, “हल बुकिङ भएको देख्दा दर्शकले हाम्रो फिल्मको प्रतीक्षा कति व्यग्रतासँग गर्नुभएको रहेछ भन्ने महसुस भयो। बिहानको सुरुवात राम्रो भएको छ र दर्शकको खुसी नै हाम्रो ठूलो प्रेरणा हो।”
को–स्टार जसिताले भनिन्, “दर्शकले नेपाली फिल्ममा सगरमाथालाई लिएर राम्रो फिल्म बनेको छ भन्ने सुन्दा धेरै खुसी लाग्यो। दर्शकको उत्साहले झन् आत्मविश्वास बढेको छ।”
त्यस्तै, आँचल शर्माले लामो समयपछि दर्शकलाई प्रत्यक्ष भेट्दा निकै खुसी लागेको बताइन्। त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जेरी अन टप’ पर्वतीय यात्राका क्रममा विकसित हुने सम्बन्ध र प्रेमकथालाई केन्द्रमा राखेर तयार गरिएको छ। सुयोग गुरुङ निर्देशित यस फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी र उषा खड्गीलगायतका कलाकारको अभिनय रहेको छ।