सुचना, समाचार र मनोरन्जन

गायक आनन्द कार्कीलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं :

नेपाली संगीत क्षेत्रका अग्रज गायक आनन्द कार्कीलाई भारतमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मान गरिएको छ। भारतको शान्तिवनमा सम्पन्न ग्लोबल समिट २०२५ मा नेपाली र हिन्दी संगीतमा चार दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको योगदानको कदरस्वरूप उनलाई सम्मान प्रदान गरिएको हो।

उनीसँगै भारतका विभिन्न विशिष्ट व्यक्तिहरूलाई समेत सो समिटमा सम्मानित गरिएको थियो। शुभ दीपावली पर्वको अवसरमा आयोजना गरिएको ग्लोबल समिटमा विश्वभरका कलाकार, साहित्यकार र चिन्तकहरूको उपस्थितिमा कार्कीलाई सम्मान गरिएको हो।

गायक कार्कीले नेपालीसँगै हिन्दी भाषाका गीत र गजलहरू गाएर साङ्गीतिक क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भएका छन्। उनले विभिन्न देशमा आयोजना भएका सांगीतिक कन्सर्टमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत–संगीतलाई चिनाउने कार्य गर्दै आएका छन्।

आयोजक संस्थाले नेपाली संगीतको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरेको जनाएको छ।

सम्मान ग्रहण गरी काठमाडौं फर्किएपछि गायक कार्कीले भने,“आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु। दर्शक र स्रोताहरूको माया र साथकै कारण यो सम्मान प्राप्त गर्न सफल भएको हुँ।”

Leave A Reply

Your email address will not be published.