काठमाडौं :
जेनजी आन्दोलनपछि वामपन्थी घटकहरूबीच एकताका प्रयास तीव्र भएका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा **(एकीकृत समाजवादी)**बीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
दुवै पार्टीबीच हाल नयाँ पार्टीको नाम र संरचनाबारे छलफल जारी छ। सोही सन्दर्भमा माओवादीबाट अलगिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि एकीकरण प्रक्रियामा सहभागी हुने संकेत देखिएको छ।
एक नेताका अनुसार अब माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकता नहुने भन्ने शंका गर्नुपर्ने अवस्था छैन। पार्टी नेतृत्वको विषयमा निर्णय गर्न प्रचण्ड र माधवकुमार नेपाललाई जिम्मा दिइएको छ। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समयअघि नै एकीकरण प्रक्रिया सम्पन्न हुने सम्भावना रहेको ती नेताले बताए।
तर नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने पार्टी एकताको पक्षमा नरहेको बताइएको छ। खनालले माओवादीसँग एकता गर्नु संगठन र सिद्धान्त दुवै दृष्टिले अनुपयुक्त हुने धारणा राख्दै आएका छन्।
स्रोतका अनुसार नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नीति तथा कार्यक्रम “नेपाली विशेषतासहितको समाजवाद”मा आधारित हुनेछ। यससँगै माओवादी केन्द्रले माओवादको सिद्धान्त औपचारिक रूपमा त्याग्ने तयारी गरेको छ।