सुचना, समाचार र मनोरन्जन

फिल्म ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौँ :

फिल्म ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्मको १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो।

मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको सार्वजनिक टिजरले सिनेमा पूर्ण एक्सन र मधेशमा हुने अपराधको बिषयमा बनेको झल्को दिन्छ। दाइजोको कुरा र दाजु बहिनीको प्रेम सम्बन्ध पनि देखाउन खोजिएको छ।

निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको फिल्ममा मुख्य अभिनेता सम्राट दास प्रभावशाली अवतारमा देखिएका छन्। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु फिल्म भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ। फिल्ममा सम्राट दास, सुप्रज्ञा शर्मा,बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह,नवीन श्रेष्ठ,गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी।के।, बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको यस फिल्मका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्। फिल्मको सम्पादन कविर वोडले गरेका हुन्। निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको हो। फिल्ममार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्‍याउने योजना रहेको उनले बताए।

फिल्मको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्। निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो फिल्म डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.