सुचना, समाचार र मनोरन्जन

बल्छी धुर्वेको निर्देशनमा बनेको ‘गोबर गणेश’को ट्रेलरमा गाउँले युवकको काठमाडौंमा टुटेको सपना

काठमाडौं :

चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ निर्माणपक्षले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा पढाइमा कमजोर एक गाउँले युवक पढ्न नसकेपछि काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष देखाइएको छ। गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नपाएको यथार्थलाई ट्रेलरले चित्रण गर्ने प्रयास गरेको छ।

ट्रेलरमा फोहोर उठाएर भए पनि आफ्नो जीवन बदल्ने विकल्प रोज्न बाध्य युवकको कठिन संघर्ष प्रस्तुत गरिएको छ। काठमाडौंको संघर्षशील जीवनशैली, त्यसले पार्ने पारिवारिक प्रभाव र आम नेपाली युवाले भोग्नुपरेको वास्तविकतालाई ट्रेलरले स्पष्ट पारेको छ।

घरमा पुलपुलिएर हुर्किएको छोरो सहर आएपछि आफ्नै कमाइमा बाँच्नुपर्ने अवस्थाको पीडा र छोराको दयनीय अवस्था थाहा पाएपछि आमाले भोग्ने भावनात्मक क्षण पनि ट्रेलरमा देख्न सकिन्छ। गाउँबाट सहर छिर्दा देखिएका सपनाहरू काठमाडौं आइपुगेपछि कसरी चकनाचुर हुन्छन् भन्ने कथा ट्रेलरको मुख्य विषयवस्तु बनेको छ।

यसअघि निर्माणपक्षले चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरिसकेको छ। गीतमा मरिचमान श्रेष्ठको स्वर रहेको छ। चलचित्र ‘गोबर गणेश’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको निर्देशन मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले गरेका हुन्।

बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा बल्छी धुर्वे र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।

तारानाथ न्यौपाने चिफ एडिटर रहेको चलचित्रमा योगेश काजी शाहको पृष्ठभूमि संगीत, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डिओपी) र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

Leave A Reply

Your email address will not be published.