चालू आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन ।
अर्थ मन्त्रालयका अनुसार ४ खर्बभन्दा बढीको पूँजीगत बजेट ल्याएको सरकारले पुस २६ गते अर्थात् हिजोसम्ममा ४३ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको हो । यो विनियोजित बजेटको १० दशमलव ६९ प्रतिशत हो ।
गएको आर्थिक वर्षको यही अवधिमा सरकारले कुल विनियोजित विकास बजेटको १५ दशमलव २१ प्रतिशत अर्थात् ५३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको थियो । गएको वर्षको भन्दा पनि अहिले विकास बजेट खर्च निराशाजनक रहेको तथ्याङ्कले देखाउँछ ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले नवयुवा आन्दोलनका कारण विकास बजेट चाहेअनुसार खर्च हुन नसकेको बताए । झन्डै एकरडेढ महिना प्रशासनिक संयन्त्र अलमलमा पर्दा त्यसले बजेट कार्यान्वयन प्रभावकारी नभएको उहाँको भनाइ छ । यद्यपि अर्थ मन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायहरूलाई सहजीकरण गरेको र अबका दिनमा विकास बजेटमा उल्लेख्य सुधार आउने पाण्डेयले बताए ।
यस्तै रुग्ण ठेक्का तोडिएकाले पनि विकास खर्चमा असर गरेको पाइन्छ । प्रवक्ता पाण्डेय रुग्ण ठोक्का तोड्दा तत्काल असर देखिए पनि भोलिको विकास निर्माणमा सकारात्मक असर पार्ने बताउनुहुन्छ । विकास खर्च नहुनुमा निर्माण व्यसायीले सरकारलाई र सरकारले निर्माण व्यवसायीलाई दोषारोपण गर्दै आइरहेका छन् ।