सुचना, समाचार र मनोरन्जन

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा : पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्। पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग गर्न थालेका हुन्।

जिल्लास्थित दलित समुदाय (मण्डल, खत्वे, महरा, सदा, दास, रजक लगायत) का महिला परिवार योजनाअन्तर्गतका स्थायी र अस्थायी साधनको सेवा ‘लुकेर होइन, खुलेर’ सेवालाई उपयोग गर्न थालेका छन्। ती समुदायका पुरुषले परिवार व्यवस्थापनअन्तर्गतका अस्थायी साधन प्रयोग गर्ने गरेका भए पनि स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गराउन अझै रुचाउँदैनन्।

तराईरमधेसमा ‘भ्यासेक्टोमी’ र हिमालरपहाडमा ‘मिनील्याप’ सेवा लिने अन्यन्त न्यून हुने गर्दछन्। मधेसमा महिलाभन्दा पुरुष र पहाडमा पुरुषभन्दा महिला श्रममा सक्रिय हुनुपर्छ र ‘स्थायी बन्ध्याकरण गराउँदा बल घट्छ’ भन्ने गहिरो मान्यता विद्यमान छ। मधेसमा कुल प्रजननदर २.४ प्रतिशत र ‘अनमिड निड’ (चाहेर पनि परिवार योजनाको साधन प्रयोग गर्न नपाउने दर) अझै ३२ प्रतिशत छ।

जिल्ला स्वास्थ्य कार्यालय, सम्बन्धित पालिकाका समन्वयमा मेरीस्टोप्स ९एमएसआई०, सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा अतिविपन्न समुदायलाई पायक पर्ने स्थानमा नै निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन हुन थालेपछि ती साधन र सेवामा विपन्न समुदायको सहज पहुँच विस्तारै बढ्न थालेकोे हो। स्थायी बन्ध्याकरणका सेवा सुगम स्थानका स्वास्थ्य संस्थाबाट मात्र उपलब्ध हुँदा सेवाग्राही शिविरकै प्रतिक्षा गरेर बस्नुको अर्को विकल्प छैन।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले गत मङ्सिर २१ गतेदेखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी पालिकासँगको समान्वय र साझेदारी तथा एमएसआई, सुनौलो परिवारको प्राविधिक सहयोग लिएर ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन गरेको छ। कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक उमेश यादवले भने, ‘पायक पर्ने स्थानमै परिवार योजनाका सेवा चाहनेहरूका लागि ‘एकीकृत परिवार योजना शिविर’ महत्त्वपूर्ण हुँदै आएका छन्।

यो वर्ष गत मङ्सिर २१ देखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी शिविर सञ्चालन भयो। यस्ता शिविरमा अतिविपन्न समुदायका विशेषगरेर महिलाहरूमा ‘परिवार योजनाको सेवा’ अन्तर्गत स्थायी बन्ध्यकरण अर्थात् मिनील्याप सेवा लिन आउँछन्। उनीहरू बिनाहिच्किचाहट सेवा लिन थालेका छन्। साथै सेवा लिने दरसमेत क्रमशः बढ्दै गएको छ।’

उनका अनुसार यस्ता शिविरले परिवार योजनाको सेवाको पहुँच बाहिर रहेका अतिविपन्न समुदायलाई सेवाको पहुँचमा ल्याउन कोसेढुङ्गाको काम गरेका छन्। यो वर्ष परिवार कल्याण महाशाखाले धनुषा जिल्लालाई शिविरमार्फत बन्ध्याकरण सेवा दिनुपर्ने लक्ष्य ९६० जना निर्धारण गरेको छ। यसपटक सो लक्ष्य पूरा हुने कठिन हुने जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिए।

यसपटक स्वास्थ्य कार्यालले ‘सेन्टर टु पेरिफेरी’ अर्थात् जिल्लाको सुगमस्थानदेखि बन्ध्याकरण शिविर थालनी गरेर अतिदुर्गम गाउँ–टोलसम्म पुर्याएको थियो। कार्यालयको हाताभित्र रहेको प्रादेशिक अस्पताल जनकपुरबाट परिवार योजनाका सबै सेवा नियमित उपलब्ध हुने गरेका छन्।

Leave A Reply

Your email address will not be published.