काठमाडौं :
यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को अर्को गीत सार्वजनिक गरिएको छ। माघ १ अर्थात् माघे सङ्क्रान्तिको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरेको हो।
गीतको भाव परदेशिन लाग्दाको पीडालाई स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकार देखिएका छन्। गीतको भावअनुसार उनीहरूको अभिनय सुहाउँदो देखिन्छ।
गीतमा किरण परियारको स्वर रहेको छ भने शब्द तथा संगीत अभि सुनारको छ। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा र पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला फिल्मको प्रचारप्रसारमा अभिनेता पल शाह, विपना थापासहित सम्पूर्ण निर्माण टिम सक्रिय छ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्मको कथा तथा पटकथा पनि उनले नै लेखेका हुन्। फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ । गायनमा रबि ओड, किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ। फिल्मका गीतको भिडियोमा कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाको रहेको छ। नवराज उप्रेतीको छायांकन रहेको यस फिल्ममा संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन्। ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।
यसअघि फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ चर्चामा रहिसकेको छ। पोस्टरदेखि गीतसम्म दर्शकको उल्लेख्य रुचि पाएको उक्त गीत नेपाली भर्सन लोकप्रिय भएपछि नेवारी भर्सनमा समेत सार्वजनिक गरिएको थियो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेवारी भर्सनको अनुवाद गरेका हुन् भने उनका छोरा यमन श्रेष्ठले गीतमा स्वर दिएका छन्। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।