सुचना, समाचार र मनोरन्जन

छैटौं टाइगर कप भलिबलको तयारी पुरा, भोली उद्घाटन सहित तीन खेल हुँदै

पोखरा,

एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम गरी तयारी पुरा भएको जनाएको हो ।

माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले तयारी पुरा भएको जनाउँदै सफल बनाउन सबै पक्षसँग आग्रह गरेका छन् । भलिबलको उर्वर भुमी गण्डकी प्रदेशको राजधानी पोखरामा नेपालको राष्ट्रिय खेल आयोजना गर्न पाउदा आफुहरु उत्साहित भएको र सफल बनाउन म सबैलाई आग्रह गरेका छन।

नेपाल भलिबल संघको स्वीकृति र समन्वयमा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुनेछन् । यस संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स (थाइल्याण्ड) तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ मैदान उत्रनेछन् ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले रु. ६ लाख ६६ हजार ६६६, दोस्रोले रु. ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु। २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु। २६,६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीहरूलाई रु. ११,६६६ बराबरको उपहारको व्यवस्था गरिएको छ।

दर्शकहरूका लागि रु। ३,५०० मूल्यको अनलाइन सिजनल टिकट खल्ती एप मार्फत उपलब्ध रहेको आयोजकले जनाएको छ । प्रत्येक खेलमा ‘टाइगर केल्मी अफ द म्याच’ घोषित खेलाडीलाई केल्मी नेपालका तर्फबाट सोभिनियर प्रदान गरिनेछ भने दैनिक टिकट काटी प्रवेश गर्ने दर्शकमध्ये एक जना भाग्यमानीलाई एक्सटेप नेपालको तर्फबाट टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु. १ करोड ८० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षक बनाउन एलईडी लाइट, एलइडी स्क्रिन डिजिटल बोर्ड, ठूलो क्षमताको प्याराफिट तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका सचिब डिबी नेपालीले जनाएका छन् । त्यस्तै उनले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाए ।

यस्तै प्रतियोगितालाई निष्पक्ष रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धा प्रतियोगिताका टेक्निकल डाइरेक्टर टहल सिंह थापाले जनाएका छन् । उनले भने–“कहिले काँही ह्युमन एरोर हुन सक्छ । तर हामी यस बारे निकै चनाखो छौं । विवादरहित रुपमा प्रतियोगिता सञ्चालन हुने विषयमा हामी आफ्नो तयारी गरेका छौं ।”

Leave A Reply

Your email address will not be published.