काठमाडौं :
फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित गरिएको छ। निर्माण पक्षले आगामी फागुन १ गते का लागि तय गरिएको प्रदर्शन मिति मुलुकको वर्तमान राजनीतिक तथा निर्वाचन परिस्थितिलाई ध्यानमा राख्दै स्थगन गरिएको जनाएको छ।
निर्माण कम्पनी लेकाली इन्टरटेनमेन्ट प्रा. लि. का अनुसार, देश निर्वाचनको संवेदनशील चरणमा रहेकाले नागरिकको ध्यान र राज्यको प्राथमिकता राजनीतिक प्रक्रिया र निर्वाचनतर्फ केन्द्रित हुनु स्वाभाविक भएको बताइएको छ। यही कारण देखाउँदै निर्माण पक्षले फिल्मको प्रदर्शन हालका लागि रोक्ने निर्णय गरेको हो।
प्रेस विज्ञप्ति जारी गर्दै निर्माण पक्षले निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएपछि तथा वातावरण सहज बनेलगत्तै फिल्म ‘कल्ली’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिएको छ।
निर्माण पक्षका अनुसार, केही समयको प्रतीक्षाले चलचित्रलाई अझ परिष्कृत र भव्य रूपमा दर्शकमाझ प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। फिल्म‘कल्ली’ को नयाँ प्रदर्शन मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।