सुचना, समाचार र मनोरन्जन

कलाकारको दमदार अभिनय हुँदाहुँदै ‘द ब्लू लाइट’ हलबाट हटाइयो

काठमाडौं :

अर्पण थापा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र महेश त्रिपाठीजस्ता स्थापित कलाकारहरूको अभिनय रहेको फिल्म ‘द ब्लू लाइट’ प्रदर्शनको केही दिनमै हलबाट हटाइएको छ। सहिद दिवसको अवसर पारेर शुक्रबार (१६ माघ)बाट रिलिज भएको फिल्म कमजोर व्यापारका कारण निरन्तर शो गुमाउन थालेपछि निर्माता पक्षले रिलिज स्थगित गर्ने निर्णय गरेको हो।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्मलाई दर्शकले कन्टेन्ट र कलाकारहरूको अभिनयमा फरक र गम्भीर प्रयासका रूपमा लिएका थिए। विशेषगरी अर्पण थापा र बेनिशा हमालको अभिनयलाई फिल्मको मुख्य बलका रूपमा चर्चा गरिएको थियो। तर, कलाकार केन्द्रित गम्भीर विषयवस्तु दर्शकसम्म पर्याप्त रूपमा पुग्न नसक्दा फिल्म बक्स अफिसमा असफल देखिएको छ।

प्रदर्शनको तीन दिनसम्म फिल्मले देशव्यापी २० प्रतिशत पनि अकुपेन्सी हासिल गर्न सकेन। आइतबारपछि अधिकांश शो कटौती भएपछि निर्माताले सोमबार विज्ञप्ति जारी गर्दै थप प्रचार–प्रसार र तयारीसहित पुनः प्रदर्शन गर्ने उद्देश्यले हाललाई फिल्म हलबाट हटाइएको जानकारी गराएका छन्।

बेनिशा हमाल यस फिल्मकी प्रमुख कलाकार मात्र नभई कार्यकारी निर्माता समेत हुन्। उनले फिल्मको डिजिटल अधिकार पनि आफैं खरिद गरेकी छन्। सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् भने अर्का कार्यकारी निर्माता नरेन्द्र मैनाली हुन्। कलाकारहरूको बलियो उपस्थितिका बाबजुद फिल्मले अपेक्षित व्यापार गर्न नसक्नु पछिल्लो समय नेपाली सिनेमामा गम्भीर विषय र कलाकार–केन्द्रित फिल्मले भोग्दै आएको चुनौतीको अर्को उदाहरण बनेको छ।

Leave A Reply

Your email address will not be published.