सुचना, समाचार र मनोरन्जन

उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात, भोलिदेखि घाम लाग्ने

काठमाडौँ,

उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक हप्तापछि पुनः वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज विशेषगरी पश्चिम नेपालका उच्च पहाडी र हिमाली भूभागमा सामान्य वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हुम्लाको सिमिकोट, मनाङको ढिकुरपोखरीदेखि माथिल्लो क्षेत्रलगायत सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका सबैजसो हिमाली क्षेत्रमा हिमपात तथा उच्च पहाडका केही क्षेत्रमा वर्षा भएको छ । यस्तै मध्य र पूर्वी नेपालका केही हिमाली क्षेत्रमा पनि हिमपात भएको उनले जानकारी दिए ।

मौसमविद् अधिकारीका अनुसार आज राति पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भएर केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा बदली भएको छ । तराई क्षेत्रमा पनि सामान्य बदली भएको महाशाखाले जनाएको छ । तर पहाडी तथा तराई क्षेत्रमा भने वर्षा नभएको र भरे राति पनि वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए ।

यसैबीच भोलिदेखि मौसम खुल्ने भएको छ । बदलीसहित केही ठाउँमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर भइसकेकाले भोलि घमाइलो दिन हुने मौसमविद् अधिकारीले बताए । उनका अनुसार केही क्षेत्रमा सामान्य बदली भए पनि त्यो दिनभर रहँदैन ।

काठमाडौँ उपत्यकासहित धेरैजसो ठाउँमा घमाइलो दिन हुनेछ । प्रणालीको प्रभावका कारण तराई मधेशको हुस्सु पनि कम हुने अनुमान रहेको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.