सुचना, समाचार र मनोरन्जन

सिनेपाः बक्सअफिस सार्वजनिक : ‘आबाट आमा’ १० दिनमै ५ करोड २० लाख ग्रस, ‘परान’ १७ करोड नाघ्यो

काठमाडौं :

सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको देशव्यापी फिल्म कमाइ विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार चन्द्र पन्त निर्देशित तथा अभिनेता पल शाह स्टारर चलचित्र ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक प्रदर्शन गर्दै १० दिनमै ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

बक्सअफिस विवरणअनुसार २४ माघ शनिबारसम्म फिल्मको कुल कमाइ ४ करोड ८० लाख ९० हजार ४८७ रुपैयाँ ग्रस पुगेको थियो। त्यसपछि दोस्रो आइतबारसम्म फिल्मको व्यापार बढ्दै ५ करोड २० लाख रुपैयाँ ग्रस नाघेको सिनेपाः बक्सअफिसले जनाएको छ। सो अवधिसम्म फिल्मका १ लाख ७६ हजारभन्दा बढी टिकट बिक्री भएका छन्। फिल्म १६ माघ शुक्रबार देशव्यापी रूपमा प्रदर्शनमा आएको थियो।

फिल्ममा पल शाहले कृष्ण नामक मुख्य पात्रको भूमिका निभाएका छन्। प्रदीप रावत र विपना थापा उनका आमा–बुबाको भूमिकामा छन् भने उषा उप्रेती ‘लभ इन्ट्रेस्ट’ र सिम्रन पन्त बदला लिने भूमिकामा देखिएकी छन्। फिल्ममा प्रकाश कुँवर, ध्रुव न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ।

यसैबीच, प्रदर्शनकै क्रममा हलबाट उतारिएको चलचित्र ‘द ब्लू लाइट’ ले प्रदर्शन अवधिभर ३ लाख १९ हजार ५९५ रुपैयाँ ग्रस मात्र कमाएको छ। फिल्मका ८३२ टिकट बिक्री भएका थिए।

अन्य चलचित्रतर्फ, ‘गोबर गणेश’ ले घरेलु बक्सअफिसमा १ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ भने यसका ४९ हजार ५३१ टिकट बिक्री भएका छन्।
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको सिनेपाःले जनाएको छ, जसका ४० हजार ८९९ टिकट बिक्री भएका छन्।

यसअघि प्रदर्शन भएको चलचित्र ‘परान’ ले भने नेपाली बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गर्दै १७ करोड ८४ लाख रुपैयाँ ग्रस कमाएको छ। फिल्मका ६ लाख ३३ हजार टिकट बिक्री भएका छन्।

सिनेपाः बक्सअफिसका अनुसार पछिल्ला तथ्यांकले केही चलचित्रले बलियो व्यापार गरिरहँदा केही फिल्म भने दर्शक अभावका कारण अपेक्षित कमाइ गर्न नसकेको देखाउँछ।

Leave A Reply

Your email address will not be published.