काठमाडौं :
फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर शो सम्पन्न भएको छ। बुधबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले विशेष प्रिमियरको आयोजना गरेको हो।
प्रिमियरमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, निर्माता तथा वितरक छविराज ओझा, अभिनेता तथा निर्देशक जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र फिल्मकर्मीको उपस्थिति थियो।
फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले यसलाई ‘हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो’ बनेको प्रतिक्रिया दिए। उनका अनुसार ‘बुकुरो’ शब्दले पैतृक घरको भावनात्मक अर्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। “फिल्म हेरिरहँदा मलाई पुरानो घरमा पु¥यायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झाएँ,” उनले भने।
घिमिरेले फिल्ममा मानवीय संवेदनाका स–साना पललाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको बताए। सानोमा खोलामा खेल्ने फुपू र भदैको बुढेसकालमा भेट हुने प्रसंग, लोभी मामाको चरित्रजस्ता पक्षले कथालाई वास्तविक र मन छुने बनाएको उनको भनाइ थियो। आमाले आवश्यकता अनुसार थप्पड लगाउने र गाली गर्ने तर अन्ततः साथ दिने छोराहरूको भूमिकालाई उनले प्रशंसायोग्य बताए।
निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिए। अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले फिल्म हेर्दा कुनै उपन्यास पढिरहेजस्तो अनुभूति भएको बताए। “कमेडी, पारिवारिक सम्बन्ध र कलाकारहरूको अभिनय निकै राम्रो छ। लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ। उहाँले यमराजसँग गरेको संवाद र मुक्तिनाथ यात्रा रमाइलो ढंगले प्रस्तुत गरिएको छ,” उनले भने।
बस्नेतले वर्षौंपछि दिदी–भाइको भेटमा देखाइने भावनात्मक उतारचढावले समाजमा आफ्नैले आफ्नालाई चोट पुर्याउने यथार्थ प्रवृत्तिलाई चित्रण गरेको उल्लेख गरे।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको ‘श्री बुकुरोः द होम कलिङ’ घर, परिवार र समाजको कथामा आधारित फिल्म हो। फिल्मले पुरानो थाकथलो जोगाइराख्नुपर्ने आवश्यकता, पारिवारिक सम्बन्ध, प्रेम र जीवनमा चिना नमिल्दाका अड्चनजस्ता विषयलाई समेटेको छ।
फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी मुख्य भूमिकामा छिन्। उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ।
रुबी सेन सिंहको लगानी रहेको फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंका विभिन्न स्थानमा गरिएको निर्माण टिमले जनाएको छ।