मुम्बई :
बलिउड उद्योगले सन् २०२६ लाई लक्षित गर्दै उच्च बजेटका बहुप्रतिक्षित फिल्महरूको निर्माणलाई तीव्र बनाएको छ। विशाल सेट,अत्याधुनिक दृश्य प्रभाव र अन्तर्राष्ट्रिय बजार लक्षित रणनीतिका कारण यी फिल्महरूलाई आगामी वर्षका सबैभन्दा महत्त्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ।
सूचीमा पौराणिक कथामा आधारित रामायण भाग १ प्रमुख रहेको छ। यस फिल्ममा रणबीर कपूर, साई पल्लवी र यशको मुख्य भूमिका रहने बताइएको छ। निर्माण पक्षले फिल्मलाई बहुभाषिक रूपमा विश्व बजारमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। यसैगरी, रोमान्चक कथावस्तुमा आधारित धुरन्धर २ पनि उच्च लगानीमा निर्माण हुने चर्चामा छ। अघिल्लो श्रृंखलापछि सिक्वेललाई अझ सशक्त र भव्य बनाउने लक्ष्य राखिएको निर्माण पक्षको भनाइ छ।
ऐतिहासिक पृष्ठभूमिमा आधारित माफिया कथामा निर्माण हुँदै गरेको फिल्म ‘टक्सिक’मा दक्षिण भारतीय अभिनेता यशको मुख्य भूमिका रहने चर्चा छ। विस्तृत सेट डिजाइन र निर्माण गुणस्तरलाई यस फिल्मको मुख्य आकर्षणका रूपमा हेरिएको छ। त्यस्तै, बृहत् एक्सन कथामा निर्माण हुन लागेको फिल्म ‘किङ’ मा शाहरुख खानको मुख्य भूमिका रहने जनाइएको छ। अन्तर्राष्ट्रिय स्तरको स्टन्ट र छायांकन समावेश गरिने तयारी छ।
द टाइम्स् इडियनका अनुसार प्रेम र द्वन्द्वको ऐतिहासिक कथामा आधारित ‘लभ एन्ड वार’मा रणबीर कपूर, आलिया भट्ट र विक्की कौशलको अभिनय रहने बताइएको छ। उद्योग विश्लेषकहरूका अनुसार तीव्र गतिमा अगाडि बढिरहेका यी परियोजनाले २०२६ मा बलिउडलाई पुनः ठूलो व्यावसायिक उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। ठूलो लगानी, चर्चित कलाकार र विश्वव्यापी प्रदर्शन रणनीतिका कारण २०२६ लाई ‘मेगा बजेट वर्ष’ का रूपमा हेरिएको छ।