मुम्बई :
बलिउड अभिनेता संजय दत्त र नृत्याङ्गना नोरा फतेही फिचर्ड फिल्म ‘केडी : द डेविल’को गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक भएको एक दिनमै विवादमा तानिएको छ। व्यापक आलोचना र कानुनी दबाबपछि उक्त गीत युट्युबबाट हटाइएको छ।
गीतमा अश्लीलता र द्विअर्थी सामग्री रहेको आरोप लागेपछि सामाजिक सञ्जालदेखि सरोकारवाला निकायसम्म विरोध चर्किएको हो। प्रयोगकर्ताले गीतका शब्द र दृश्यलाई ‘फोहोर’ भन्दै तीव्र आलोचना गरेका छन् भने कलाकार नोरा फतेहीको नृत्यशैलीमाथि पनि प्रश्न उठाइएको छ।
विवाद बढ्दै गएपछि अल इन्डियन सिने वर्कर्स एसोसिएसन ले केन्द्रीय चलचित्र प्रमाणन बोर्ड का अध्यक्ष प्रसून जोशी लाई पत्र लेख्दै गीतमाथि कडा आपत्ति जनाएको छ। संस्थाले यस्ता सामग्रीले भारतीय सिनेमाको छवि बिगार्ने चेतावनी दिएको छ।
यसबीच, गायक अरमान मलिक र पूर्व क्रिकेटर हरभजन सिंह ले पनि गीतको खुलेर आलोचना गरेका छन्। उनीहरूले यसलाई सांगीतिक स्तरको ‘गिरावट’ भन्दै युवामा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।
कानुनी पक्ष पनि कडा बन्दै गएको छ। राष्ट्रिय मानव अधिकार आयोग ले निर्माता पक्षलाई नोटिस जारी गरेको छ भने दिल्ली प्रहरीको साइबर सेलमा उजुरीसमेत दर्ता भएको छ। उजुरीमा गीतले समाजमा अश्लीलता फैलाएको आरोप लगाउँदै शब्दकार रकीब आलम, निर्देशक प्रेम र संगीतकार अर्जुन जान्याविरुद्ध कारबाही माग गरिएको छ।
विवाद चुलिँदै जाँदा युट्युबमा गीतको लिंक खोल्दा ‘यो भिडियो प्राइभेट छ’ भन्ने सन्देश देखिन्छ। नोरा फतेहीले पनि आफ्नो इन्स्टाग्रामबाट भिडियो हटाइसकेकी छन्। यद्यपि, यस विषयमा संजय दत्त वा नोरा फतेहीको तर्फबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।