सुचना, समाचार र मनोरन्जन

‘लालीबजार’ आमा र छोरीको कथा हो : लेखक तथा निर्देशक यम थापा

काठमाडौं :

षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई संलग्न षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ। तर, ‘लालीबजार’मा भने निर्देशनको जिम्मा यम थापालाई दिइएको छ।

चलचित्रको कथा पनि निर्देशक थापाकै हो। उनले यसअघि ‘रज्जा रानी’, ‘हुर्रे’ र ‘मेरी मामु’ जस्ता विषयप्रधान चलचित्र निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’ र ‘परान’लगायत चलचित्रको पटकथामा काम गरिसकेका छन्।

निर्देशक थापाका अनुसार कथाको छलफलका क्रममा नै षट्कोण आर्ट्ससँग सहकार्य सुरु भएको हो। उनले भने, “तराईको विषयमा फिल्म बनाउने तयारी भइरहेका बेला हाम्रो भेट भयो। राम्रो कथा पाए लगानी गर्ने कुरा रवीन्द्रसिंह बानियाँले गर्नुभयो। मैले आमाको विषयमा रहेको कथा सुनाएँ, र त्यसैबाट ‘लालीबजार’को सुरुआत भयो।”

सुरुआतमा आफूले निर्देशन गर्ने योजना नरहेको उनले बताए। तर, पटकथा विकासको क्रममा निर्देशक प्रदीप भट्टराईकै प्रस्तावमा उनले निर्देशनको जिम्मेवारी सम्हालेका हुन्। चलचित्रको नाम ‘लालीबजार’ राख्ने प्रस्ताव पनि भट्टराईले नै दिएका थिए, जसमा सम्पूर्ण टिम सहमत भएको निर्देशक थापाले जानकारी दिए।

चलचित्र आमा–छोरीको कथामा आधारित रहेको बताइएको छ। निर्देशक थापाले भने, “यो मैले लामो समयदेखि देख्दै आएको कथालाई फिल्मको रूप दिएको हो। समाजको एउटा पाटो चित्रण गरिएको छ, जसले दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास लिएको छु।”

चलचित्रका दुई गीत ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ सार्वजनिक भइसकेका छन्, जसले युट्युबसहित टिकटक, रील्स र सर्ट्समा लोकप्रियता कमाएका छन्। बर्दियाको राजापुरमा छायांकन गरिएको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका छन्। विशाल रंगमञ्चमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय छन् भने प्रसंशा जेन–जी पुस्तामाझ चर्चित कलाकार हुन्। चलचित्रको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।

यस चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ।

Leave A Reply

Your email address will not be published.