सुचना, समाचार र मनोरन्जन

सौगात मल्ल भन्छन्—‘परालको आगो’मा फरक स्वाद पाउनेछन् दर्शकले

काठमाडौं :

चलचित्र ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित देखिएका छन्। फरक कथा र नयाँ कलाकारसँग पहिलो पटक काम गर्न पाउँदा आफू उत्साहित भएको उनले बताएका छन्।

सौगातले गायक तथा अभिनेता प्रकाश सपुतसँगको सहकार्यबारे पनि अनुभव सुनाए। उनले भने, “प्रकाश सपुतसँग यसअघि खासै भेट भएको थिएन। उहाँले हामी कहाँ भेटिएको हो भनेर सोध्नुहुन्थ्यो। उहाँका गीतहरू मलाई पहिलेदेखि नै मन पर्थे, बाहिर जाँदा पनि सुन्थेँ। त्यसैबाट उहाँलाई चिन्ने मौका मिलेको हो। पछि सँगै फिल्ममा काम गर्न पाउँदा निकै सहज भयो।”

प्रकाश सपुतले यसअघि पनि केही चलचित्रमा अभिनय गरिसकेका छन्। उनको अभिनयबाट आफू प्रभावित भएको सौगातले बताए। “काम गर्दा कुनै गाह्रो भएन, हामीले मिलेर काम गर्यौँ,” उनले भने।

अभिनेत्री सुहाना थापासँग काम गर्दा पनि सहज अनुभव भएको उनले सुनाए। “गाउँमा करिब एक महिना बस्दा उनको काम गर्ने तरिका र अभिनय निकै राम्रो लाग्यो,” उनले भने। सौगातले सुहानामा अघिल्लो पुस्ताकी अभिनेत्री झरना थापाको झल्को देखिएको उल्लेख गरे। उनले सुहानालाई मेहनती र पछिल्लो पुस्ताकी उत्कृष्ट कलाकारमध्ये एक भएको बताए।

चलचित्रको गीत र ट्रेलर हेरेपछि फिल्मप्रति झनै आशावादी बनेको उनले बताए। “अहिलेसम्म हेर्दा यो राम्रो फिल्म बनेको जस्तो लाग्छ। म आफैं पनि राम्रो फिल्म हेर्ने दर्शक हुँ, त्यसैले यसबाट धेरै अपेक्षा राखेको छु,” उनले भने।

निर्देशक लक्ष्मण सुनारसँग यसअघि ‘कल्ली’ नामक चलचित्रमा काम गरेको अनुभवका कारण पनि आफू यस परियोजनामा जोडिएको उनले बताए। “म पनि निकै उत्सुक छु। हामीले स्क्रिप्ट मात्र पढेका छौँ, पूर्ण फिल्म अझै हेरेका छैनौँ। तर राम्रो फिल्म बनेको छ भन्ने विश्वास छ,” उनले थपे।

सौगातका अनुसार यस चलचित्रमा उनले अघिल्ला कामभन्दा फरक अभिनय प्रस्तुत गरेका छन्। उनले दर्शकले आफ्नो अभिनय रुचाउनेमा विश्वास व्यक्त गरे। सुशील पोखरेलको निर्माणमा बनेको यस चलचित्रमा कथा अनुसार कुनै पनि पक्षमा कन्जुस्याइँ नगरिएको उनले बताए। गुरु प्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित यस चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको सौगातले उल्लेख गरे।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ। चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्। ‘परालको आगो’ आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.