सुचना, समाचार र मनोरन्जन

‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी

काठमाडौं :

 निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री केकी अधिकारी ‘महारानी’को भूमिकामा भित्रिएकी छन्। चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले केकीको स्वागत गर्दै भने, “महाराजधिराजकी महारानीलाई सु–स्वागतम्। यहाँको उपस्थिति र हौसलाका लागि म हृदयदेखि नै कृतज्ञ छु।”

तीन दिनअघि मात्रै आफ्नो नयाँ चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन्। उनको प्रवेशसँगै चलचित्रको लाइनअप थप बलियो बनेको निर्माण पक्षको दाबी छ।

यसअघि नै मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन्। नयाँ वर्षको अवसर पारेर निर्माण टिमले उनलाई अनुबन्ध गरेको जानकारी दिँदै पोस्टर समेत सार्वजनिक गरेको थियो। लामो समयदेखि ‘राजा’को भूमिकामा को रहने भन्ने कौतुहलता पनि यससँगै अन्त्य भएको थियो।

चलचित्रमा अनुबन्ध हुँदा पुष्पले आफ्नै औंला काटेर रगतको औंठाछाप लगाएको प्रसंगले पनि चर्चा पाएको छ। सार्वजनिक पोस्टरले चलचित्र थ्रिलर वा पिरियड ड्रामाको झल्को दिने देखिन्छ। यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारी रहेको चलचित्रको कलाकार छनोट निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन्।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा पुष्प खड्का, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेललगायतका कलाकार रहनेछन्।

निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’ मानिएको ‘महाराजधिराज’मा करिब ८० कलाकारको सहभागिता रहने बताइएको छ। पुराना र नयाँ पुस्ताका कलाकारको मिश्रण देखाउन टिमले व्यापक स्टारकास्ट तयार गरेको हो।

प्रस्तुतकर्ता विष्टका अनुसार बलियो कलाकार लाइनअपअनुसार चलचित्र पनि प्रभावशाली बन्ने विश्वास गरिएको छ। चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुने जनाइएको छ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानमा छायांकन गरिनेछ। चलचित्रका छायाकार नवराज थापा हुन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको लेखन निर्देशक सेन स्वयंले गरेका छन्। चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्। ‘महाराजधिराज’ आगामी बडादशैंको फूलपातीको अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण टिमले जनाएको छ।

Leave A Reply

Your email address will not be published.