सुचना, समाचार र मनोरन्जन

केकी अधिकारीपछि ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री

काठमाडौं :

निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री भएको छ। निर्माणपक्षले चलचित्रमा पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो। केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा शर्मालाई भित्र्याएको छ।

यसै साता ‘महाराजधिराज’मा हेमन्त बुढाथोकी पनि अनुबन्ध भएका छन् । कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दै गर्दा सिनेमाको लाइनअप पनि थप बलियो बन्दै गएको छ। यसअघि नयाँ वर्षको अवसर पारेर चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए। निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो।

‘पिरियड ड्रामाको झल्को दिने यो सिनेमा यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको छ। परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा पुष्प, पूजा र केकीसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन्। निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन्। पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लानअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे। चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ। ‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ। निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.